लेख विवरण

क्रिकेटमा नयाँ फर्म्याट ‘टेस्ट २०’ सार्वजनिक, टेस्ट र टी–२० दुवैको मज्जा एकैसाथ

क्रिकेटमा नयाँ फर्म्याट ‘टेस्ट २०’ सार्वजनिक, टेस्ट र टी–२० दुवैको मज्जा एकैसाथ

काठमाडौँ । क्रिकेटको इतिहास सन् १८७७ मार्च १५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा पहिलो टेस्ट खेलसँगै सुरु भएको हो। त्यसयता क्रिकेटमा विभिन्न फर्म्याट र नियमहरूमा धेरै परिवर्तन हुँदै गए — टेस्टपछि एकदिवसीय (वनडे) र त्यसपछि छोटो फर्म्याटको टी–२० आएको थियो। पछिल्ला वर्षमा ‘द हन्ड्रेड’ र ‘टी–१०’ फर्म्याट पनि लोकप्रिय बनेका छन्। अब क्रिकेटमा अर्को नयाँ प्रयोग सुरु हुन लागेको छ, जसलाई ‘टेस्ट २०’ नाम दिइएको छ।

‘टेस्ट २०’ के हो ?

‘टेस्ट २०’ क्रिकेट फर्म्याट टेस्ट र टी–२० दुबैको मिश्रणका रूपमा ल्याइएको हो। द फोर्थ फर्म्याट का सीईओ तथा वन वन सिक्स नेटवर्क का कार्यकारी अध्यक्ष गौरव बहिरवानीका अनुसार यो नयाँ फर्म्याटमा प्रत्येक टिमलाई दुईपटक ब्याटिङ गर्ने मौका हुनेछ, जस्तै टेस्ट क्रिकेटमा दिइन्छ। तर यो छोटो र तीव्र गतिमा खेलिने भएकाले दर्शकले प्रत्येक क्षणको रोमाञ्चक अनुभव गर्न सक्नेछन्।

खेलका नियम र ढाँचा

यो खेल कुल ८० ओभरमा सम्पन्न हुनेछ र चार ब्रेक रहनेछन्। दुबै टोलीले दुई पटक ब्याटिङ र बलिङ गर्नेछन्।
टेस्ट र टी–२० दुबैका नियम मिलाएर बनाइएको यस फर्म्याटमा खेलको परिणाम जित, हार, बराबरी वा ड्र’ मध्ये कुनै पनि हुन सक्छ।
अर्थात् यो टेस्ट क्रिकेटको संक्षिप्त र छरितो संस्करण हुनेछ, जसमा रणनीति र रोमाञ्च दुबै समेटिएको हुनेछ।

कहिले सुरु हुँदैछ ?

अन्तर्राष्ट्रिय क्रिकेटमा यो फर्म्याट अझै आधिकारिक रूपमा प्रवेश गरेको छैन, तर रिपोर्टअनुसार आउँदो जनवरीदेखि ‘टेस्ट २०’ सुरु हुने तयारी भइरहेको छ।

दिग्गजहरू पनि उत्साहित

यस नयाँ फर्म्याटप्रति विश्व क्रिकेटका दिग्गजहरू पनि उत्साहित छन्। दक्षिण अफ्रिकाका एबी डि भिलियर्स, अस्ट्रेलियाका म्याथ्यु हेडन, वेस्ट इन्डिजका क्लाइभ लायड, र भारतका हरभजन सिंह यस फर्म्याटको सल्लाहकार बोर्डमा रहेका छन्।
उनीहरूले यो फर्म्याटलाई अझ रोमाञ्चक र रचनात्मक बताउँदै यसले क्रिकेटमा नयाँ युगको सुरुवात गर्ने विश्वास व्यक्त गरेका छन्।

क्रिकेटमा निरन्तर परिवर्तन भइरहेका बेला ‘टेस्ट २०’ लाई टेस्टको गहिराइ र टी–२०को गतिलाई एकसाथ जोड्ने फर्म्याटका रूपमा हेरिएको छ। अब क्रिकेटप्रेमीहरू उत्सुकतापूर्वक यसको सुरुवातको प्रतीक्षा गरिरहेका छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.