लेख विवरण

जापान ओपन टेनिसबाट नाओमी ओसाका चोटका कारण बाहिरिइन्

जापान ओपन टेनिसबाट नाओमी ओसाका चोटका कारण बाहिरिइन्

ओसाका । जापानी टेनिस स्टार नाओमी ओसाका बायाँ खुट्टामा चोट लागेकै कारण शुक्रबार जापान ओपन टेनिस प्रतियोगिताको महिला एकल क्वार्टरफाइनल खेल्न नपाई टुर्नामेन्टबाट बाहिरिएकी छन्।

डब्ल्यूटीए टुरका अनुसार ओसाकाले खेलअघि नै क्वार्टरफाइनलबाट नाम फिर्ता लिँदा रोमानियाकी ज्याकलिन क्रिस्टियन वाकओभरका माध्यमबाट सेमिफाइनलमा प्रवेश गरेकी छन्।

टुर्नामेन्ट आयोजकहरूले जनाएअनुसार ओसाका दोस्रो चरणको खेलका क्रममा घाइते भएकी थिइन् र त्यस चोटबाट पूर्ण रूपमा निको हुन नसकेकी हुन्।

यससँगै क्रिस्टियनले यस वर्षको डब्ल्यूटीए सर्किटमा तेस्रोपटक सेमिफाइनल स्थान सुनिश्चित गरेकी छन्।
ओसाकाले चोट लाग्नुअघि जापानकी वाकाना सोनोबे र सन् २०२४ की च्याम्पियन सुजेन लेमेन्सलाई पराजित गरेकी थिइन्।

त्यस्तै, शुक्रबार नै भएको अर्को क्वार्टरफाइनलमा अमेरिकी ओपन २०२१ की उपविजेता लेला फर्नान्डेजले रेबेका रामकोवलाई ७–६, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी छन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.