छिन्नमस्ता बाहिनी (सशस्त्र प्रहरी) विजेता, गंगोत्रीमाथि रोमाञ्चक पुनरागमन जित
बर्दिबास, कात्तिक २ गते —
सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी, बर्दिबासले रोमाञ्चक पुनरागमन गर्दै खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आफ्नो नाममा पारेको छ। शनिबार बर्दिबास–३, गौरीडाँडामा गौरीबास युथ क्लबको आयोजनामा सम्पन्न फाइनल खेलमा सशस्त्रले गंगोत्री इङ्लिश सेकेन्डरी स्कुल, महेन्द्रनगर धनुषालाई ३–२ सेटको कडा प्रतिस्पर्धामा हराउँदै उपाधि जित्यो।
तिहार तथा छठ पर्वको अवसर पारेर आयोजित उक्त प्रतियोगिताको फाइनलमा गंगोत्रीले पहिलो दुई सेट २५–१६ र २६–२४ ले जित्दै बलियो सुरुवात गरेको थियो।
तर त्यसपछि सशस्त्रले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट २५–२०, २५–१८ र निर्णायक सेट १६–१४ ले जित्दै रोमाञ्चक विजय हात पार्यो।
विजेता सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीले नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्यो।
उपविजेता बनेको गंगोत्री इङ्लिश सेकेन्डरी स्कुलले ५१ हजार रुपैयाँ र ट्रफीमा चित्त बुझायो।
फाइनलमा सशस्त्रका रोशन विकलाई ‘म्यान अफ द म्याच’ घोषित गरियो भने गंगोत्रीका रवीन्द्र गौतमलाई ‘म्यान अफ द सिरिज’ उपाधीसहित नगद पुरस्कार प्रदान गरिएको थियो।
विजेता तथा उपविजेता टोलीलाई बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रह्लाद क्षेत्रीले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभयो।
तिहार र छठ पर्वको अवसरमा आयोजना गरिएको यस प्रतियोगिताले बर्दिबास क्षेत्रका युवाबीच खेलप्रतिको रुचि र सहभागिता बढाएको आयोजक गौरीबास युथ क्लबले जनाएको छ।

टिप्पणी लेख्नुहोस्