विश्व तेक्वान्दो च्याम्पियनसिप र ग्रान्ड स्ल्याम च्यालेन्जका लागि नेपाली टोलीको विदाई
काठमाडौं, चीनको उक्सी सहरमा आयोजना हुने विश्व तेक्वान्दो च्याम्पियनसिप (जी १४) २०२५ र विश्व तेक्वान्दो ग्रान्ड स्ल्याम च्यालेन्ज (जी २) २०२५ प्रतियोगितामा सहभागी हुन जाने नेपाली राष्ट्रिय तेक्वान्दो टोलीलाई नेपाल तेक्वान्दो संघले आज विदाई गरेको छ।
विश्व च्याम्पियनसिप २०२५ अक्टोबर २४ देखि ३० तारिखसम्म र ग्रान्ड स्ल्याम च्यालेन्ज २०२५ नोभेम्बर २ देखि ४ तारिखसम्म चीनको उक्सीमा सञ्चालन हुने कार्यक्रम रहेको छ।
विदाई कार्यक्रममा नेपाल तेक्वान्दो संघका सल्लाहकार परिषद्का अध्यक्ष प्रकाश शम्शेर राणाले खेलाडी र अफिसियलहरुलाई शुभकामना सहित विदाई गरे।
यस प्रतियोगितामा सहभागी पुरुष खेलाडीहरुमा सुमित विष्ट (–५८ केजी), आशिष भण्डारी (–७४ केजी), अफ्ताब आलम (–५४ केजी), सुगन श्रेष्ठ (–६८ केजी), अरुण टमाटा (–६३ केजी) र अभिषेक बराल (–८० केजी) रहेका छन्।
महिला तर्फ सन्तोषी राई (–४६ केजी) र ईशा महतो (–४९ केजी) रहेका छन्। टोलीसँग प्रशिक्षक सयद हसन रेजा पनि हुनेछन्।
नेपाल तेक्वान्दो संघका अनुसार खेलाडी र प्रशिक्षकहरु कार्तिक ३ गते चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
यस्तै, विश्व तेक्वान्दो (WT) को वार्षिक कार्यक्रम अनुसार अक्टोबर २३ तारिखमा उक्सीमा आयोजना हुने वर्ल्ड तेक्वान्दो जेनरल एसेम्बली (साधारण सभा) मा नेपाल तर्फबाट संघका अध्यक्ष दीपराज गुरुङ, सल्लाहकार परिषद्का अध्यक्ष प्रकाश शम्शेर राणा र प्रशिक्षक कविराज खड्गी सहभागी हुने छन्। उनीहरु कार्तिक ४ गते चीन प्रस्थान गर्नेछन्।
नेपाल तेक्वान्दो संघले टोलीको सफल सहभागिता र उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरेको छ।

टिप्पणी लेख्नुहोस्