‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पुरुष भलिबल उपाधि गलकोट नगरपालिकालाई
काठेखोला (बागलुङ),
‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा निसीखोला गाउँपालिकालाई प्रतिस्पर्धात्मक पाँच सेटसम्म चलेको खेलमा ३–२ को अन्तरले पराजित गर्दै गलकोटले उपाधि आफ्नो पक्षमा पारेको हो।
गलकोटले पहिलो सेट २७–२५, तेस्रो सेट २५–२० र निर्णायक पाँचौं सेट २४–२२ ले जितेको थियो। निसीखोलाले दोस्रो सेट १५–२५ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको थियो।
विजेता गलकोट नगरपालिकाले नगद दुई लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता निसीखोलाले नगद एक लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
तेस्रो स्थानका लागि शनिबार भएको खेलमा काठेखोला गाउँपालिकाले ढोरपाटन नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो। पहिलो सेट १९–२५ ले गुमाएपछि काठेखोलाले दोस्रो, तेस्रो र चौथो सेट क्रमशः २५–१३, २५–२१ र २५–२० ले जितेको थियो।
तेस्रो स्थान हासिल गर्ने काठेखोलाले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने चौथो स्थानमा रहेका ढोरपाटनले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
विधागत पुरस्कारमा पनि गलकोटको दबदबा
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (MVP) गलकोट नगरपालिकाका सूर्य विक घोषित भएका छन्। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन्।
त्यस्तै, अन्य विधागत पुरस्कार विजेताहरू यसप्रकार छन्:
-
उत्कृष्ट ब्लकर – दीप्सन शाही (गलकोट)
-
उत्कृष्ट सेटर – रेशम विक (गलकोट)
-
उत्कृष्ट प्रशिक्षक – कृष्ण शेरचन (गलकोट)
-
उत्कृष्ट सर्भर – राजकुमार प्रतेल (निसीखोला)
-
उत्कृष्ट स्पाइकर – मदन छन्त्याल (निसीखोला)
-
उत्कृष्ट लिब्रो – राजन भित्रिकोटी (काठेखोला)
-
उदयमान खेलाडी – दीप्सन श्रीस (बरेङ)
यी प्रत्येक विजेताले नगद पाँच हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगिताले बागलुङ जिल्लामा स्थानीय तहबीचको खेलकुद प्रतिस्पर्धा र खेलाडीबीच आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुर्याएको आयोजकले जनाएको छ।

टिप्पणी लेख्नुहोस्