एसियाली युथ गेम्समा ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने
काठमाडौं, कात्तिक २ गते ।
बहराइनमा हुने तेश्रो एसियाली युथ गेम्समा नेपालबाट ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता कात्तिक ५ देखि १४ गतेसम्म हुनेछ ।
ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जनले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । अफिसियलमा तिलक पाण्डे (ब्याडमिन्टन), ध्रुवबाबु थापा (गल्फ), देवकीमाया श्रेष्ठ (जुडो), भूपेश शाक्य (मुवाँथाई) र नयना शाक्य (पौडी) रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव एवं राखेपका सदस्य रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टलगायतले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे । पहिलो टोलीका रुपमा मुवाँथाई टोली मंगलबार बहराइन जाने छ । गल्फका रुवेन विदेशमा रहेकाले त्यत्तैबाट बहराइन जाने छन् ।
उक्त प्रतियोगितामा टेबलटेनिसका अन्तर्राष्ट्रिय अम्पायर तेजेन्द्रसिंह महराले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

टिप्पणी लेख्नुहोस्