नवौं मण्डली कपको उपाधि मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई
रामपुर (पाल्पा), कात्तिक २ गते —
नवौं मण्डली कप भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लब, रुपन्देहीले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा मणिमुकुन्दले मामा भान्जा युनाइटेड क्लब, रामपुरलाई ३–१ सेट अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।
खुला क्लब स्तरीय भलिबल प्रतियोगिताको फाइनलमा मणिमुकुन्दले पहिलो, तेस्रो र चौथो सेट क्रमशः २५–१९, २५–१६ र २५–२१ को स्कोरले जित्दै विजेता बनेको हो। दोस्रो सेट भने मामा भान्जा युनाइटेडले जितेको थियो।
यससँगै मामा भान्जा युनाइटेडले दोस्रो स्थानमा चित्त बुझायो। गत असोज २९ गतेदेखि सुरु भएको प्रतियोगितामा निस्दी खेलकुद विकास समितिले तेस्रो स्थान हासिल गरेको छ।
तेस्रो स्थान निर्णायक खेलमा निस्दीको जित
तेस्रो स्थानका लागि भएको खेलमा निस्दीले होराइजन स्पोर्ट्स क्लब, बुटवललाई ३–१ सेट अन्तरले पराजित गरेको हो।
पहिलो सेट २५–२३ ले गुमाए पनि निस्दीले दोस्रो, तेस्रो र चौथो सेट क्रमशः २५–२०, २५–२३ र २५–१७ ले जित्दै जित सुनिश्चित गरेको थियो।
नगद र पुरस्कार
विजेता मणिमुकुन्दले नगद १ लाख ५१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
उपविजेता मामा भान्जा युनाइटेडले १ लाख १ हजार रुपैयाँ,
तेस्रो निस्दी खेलकुद विकास समितिले ७१ हजार रुपैयाँ,
र सान्त्वना टोलीले ३६ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
विधागत पुरस्कार विजेताहरू
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी (MVP) मणिमुकुन्द भलिबल क्लबका रेशम विक घोषित भएका छन्।
अन्य विधागत पुरस्कार विजेताहरू यसप्रकार छन्:
-
उत्कृष्ट सर्भर – मिलन चन्द
-
उत्कृष्ट डिफेन्डर – राजन दर्लामी (मामा भान्जा युनाइटेड)
-
उत्कृष्ट सेटर – दिपेश कुँवर (मणिमुकुन्द)
-
उत्कृष्ट स्पाइकर – सञ्जु विक्रम शाह (मामा भान्जा युनाइटेड)
-
उत्कृष्ट ब्लकर – चिरन खड्का (मणिमुकुन्द)
सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँ, अन्य विधागत विजेताले जनही २ हजार रुपैयाँ प्राप्त गरेका छन्, भन्ने जानकारी मण्डली स्पोर्ट्स क्लबका अध्यक्ष अन्त प्रसाद श्रेष्ठले दिनुभयो।
संस्कृति र खेलको संगम
दसैँ–तिहारको अवसरमा आयोजना गरिएको यो प्रतियोगिता मण्डली स्पोर्ट्स क्लबको आयोजनामा र पूर्वखोला गाउँपालिकाको सहआयोजनामा सम्पन्न भएको हो।
पूर्वखोला–१, सिलुवास्थित मण्डली स्पोर्ट्स क्लबको खेलमैदानमा असोज २९ देखि कात्तिक १ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ६ वटा क्लबको सहभागिता रहेको थियो।
प्रतियोगिताको अवसरमा कौरानाच, पञ्चेबाजा र झाँकीसहितको सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

टिप्पणी लेख्नुहोस्