हरिपुर मेयर कपको उपाधि वडा नं. २ लाई
सर्लाही, कात्तिक १ गते । सर्लाहीको हरिपुरमा सम्पन्न दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नं. २ ले जितेको छ । फाइनल खेलमा वडा नं. २ ले वडा नं. ३ लाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै हरिपुर नगरस्तरीय मेयर कपको च्याम्पियन बनेको हो ।
हरिपुर नगरपालिका–७, चिताइन खेल मैदानमा भएको निर्णायक भिडन्तमा वडा नं. २ का शिवजी कुमर, रोहन बुढाथोकी र दिलिप धामीले एक–एक गोल गर्दै टोलीलाई उपाधिसम्म पुर्याए ।
विजेता टोलीले ट्रफीसहित नगद एक लाख रुपियाँ प्राप्त गरेको छ भने उपविजेता वडा नं. ३ ले ५० हजार रुपियाँमा चित्त बुझाएको छ ।
फाइनल खेलमा वडा नं. २ का शिवजी कुमरलाई म्यान अफ द म्याच, सोही वडाका विकल्प थापालाई म्यान अफ द सिरिज, र वडा नं. ७ का श्रीतम चौधरीलाई सर्वाधिक गोलकर्ताको पुरस्कार प्रदान गरिएको छ ।
लक्ष्मीनाथ युवा क्लब, हरिपुर–७ चिताइनको आयोजनामा तथा हरिपुर नगरपालिका कार्यालयको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
समापन समारोहमा संविधानसभा सदस्य रामचन्द्र चौधरी, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, वडा नं. २ का अध्यक्ष निलबिक्रम थापा, वडा नं. ७ का अध्यक्ष मनोजकुमार चौधरी, आयोजक क्लबका अध्यक्ष नरहरि धामी, शिक्षा शाखा प्रमुख नागेश्वर राय, वरिष्ठ लेखा अधिकृत भूपेन्द्र सिंह र लेखा अधिकृत रञ्जित रायलगायत अतिथिहरूले विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभयो ।
आयोजक समितिले आगामी वर्ष यो प्रतियोगितालाई अझ विस्तृत रूपमा आयोजना गर्ने योजना समेत जनाएको छ ।

टिप्पणी लेख्नुहोस्