भोक्राहा नरसिंहमा तिहारको अवसरमा तीन दिने दुई देशीय कुस्ती प्रतियोगिता हुने
इनरुवा, कात्तिक १ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ स्थित काली मन्दिर परिसरमा तिहारको अवसरमा तीन दिने तथा दुई देशीय कुस्ती प्रतियोगिता हुने भएको छ । यो प्रतियोगिता कार्तिक ३ गतेदेखि ६ गतेसम्म आयोजना गरिने तयारी भएको आयोजक समितिले जानकारी दिएको छ ।
यादव समुदायको बाहुल्य रहेको उक्त क्षेत्रमा तिहारको रमाइलोसँगै खेलकुदको परम्परा जोडिँदै आएको छ । विगतका वर्षहरूझैँ यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै नेपाल–भारत मैत्री दङ्गल (मल्लयुद्ध) आयोजना गर्न लागिएको हो ।
आयोजक समितिका अध्यक्ष सचेन्द्र यादवका अनुसार मौलिक खेलकुदमा पर्ने कुस्ती लोपोन्मुख अवस्थामा पुगेको र यसको संरक्षण तथा प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो । “कुस्ती प्रतियोगिताले मनोरञ्जन मात्र होइन, सांस्कृतिक पहिचान र मैत्री सम्बन्ध सुदृढ पार्ने उद्देश्य लिएको छ,” यादवले बताउनुभयो ।
यस वर्षको मेलामा नेपालका विभिन्न जिल्लाका नाम चलेका पहलवानहरूका साथै भारतको दिल्ली, पन्जाब, हरियाणा र लुधियानाबाट समेत प्रसिद्ध पहलवानहरूको सहभागिता रहनेछ । आयोजक समितिका अनुसार नेपाल–भारतका ३० जोडी पहलवानबीच ६० वटा खेल प्रदर्शन हुनेछ, जसको प्रत्यक्ष अवलोकन दर्शकले निःशुल्क रूपमा गर्न सक्नेछन् ।
मेला हेर्न हजारौं दर्शक आउने अपेक्षा गरिएको छ । मेला आयोजनाका प्रमुख रामेश्वर मर्वैताले मेला संयोजक सचेन्द्र यादवको संयोजकत्वमा २५ सदस्यीय समिति गठन गरिएको जानकारी दिनुभयो । मेलाको व्यवस्थापनका लागि स्थानीय निकाय र सुरक्षा निकायबीच समन्वय गरिएको पनि उहाँले बताउनुभयो ।
धार्मिक तथा सांस्कृतिक कार्यक्रम, झाँकी प्रदर्शन, विभिन्न स्टल र मनोरञ्जनका साधनहरूले मेला झनै आकर्षक बनाउने आयोजकको योजना छ । मेला समितिका अनुसार यो मेला धार्मिक आस्था, भाइचाराको सन्देश र सांस्कृतिक एकताको प्रतीकका रूपमा स्थापित हुने विश्वास गरिएको छ । समितिले सम्पूर्ण कुस्ती प्रेमी, दर्शक र श्रद्धालुहरूलाई मेलामा सहभागी हुन आग्रह गरेको छ ।

टिप्पणी लेख्नुहोस्