राप्ती सोनारीमा कुसुमीया सामुदायिक वन उपभोक्ता समितिको विजय, सातौं वडा कप फुटबलको उपाधि हातमा
बाँके । दीपावलीको उल्लाससँगै राप्ती सोनारी गाउँपालिका–७ स्थित सहिद दलबहादुर घर्ती मगर खेलमैदान हर्ष र हुटिङले गुञ्जिएको थियो। अवसर थियो—सातौं अन्तर सामुदायिक वन उपभोक्ता समिति स्तरीय वडा कप फुटबल प्रतियोगिताको फाइनल खेलको, जसमा कुसुमीया सामुदायिक वन उपभोक्ता समिति विजेता बन्दै उपाधि हात पार्यो।
फाइनल खेलमा कुसुमीया सामुदायिक वनले मनडपवा सामुदायिक वन उपभोक्ता समितिलाई पराजित गर्दै विजेता बनेको हो। उपविजेता बनेको मनडपवा समितिले पनि उत्कृष्ट प्रदर्शन गर्दै दर्शकको मन जित्न सफल भएको सहभागीहरूले बताए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका मोहन थारुले ८ गोल गर्दै उत्कृष्ट खेलाडीको उपाधि हात पारेका छन्।
विजेता टोलीका खेलाडीहरूलाई वडाध्यक्ष रामलखन थारुले नगद १५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो। त्यस्तै, उपविजेता टोलीले ८ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेको थियो।
प्रतियोगितामा सात सामुदायिक वन उपभोक्ता समितिहरूले सहभागिता जनाएका थिए। दीपावलीको अवसरमा आयोजना गरिएको यस प्रतियोगिताले खेलकुद, सामुदायिक एकता र उत्सवको भावना फैलाएको सहभागीहरूको भनाइ छ।

टिप्पणी लेख्नुहोस्