लेख विवरण

भद्रपुरमा राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिरसहित आकर्षक कालीपूजा पण्डाल निर्माण

भद्रपुरमा राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिरसहित आकर्षक कालीपूजा पण्डाल निर्माण

भद्रपुर (झापा) । भद्रपुर–६ मा यस वर्षको कालीपूजाका अवसरमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षक पण्डाल निर्माण गरिएको छ।

‘जेनजी आन्दोलन’पछि देशमा देखिएको राजनीतिक अस्थिरताका बीच राष्ट्रिय क्रिकेट टोलीले हालै देशलाई दिएको उत्साह र गर्वको भावनालाई आत्मसात् गर्दै क्लब बाङ्गला भद्रपुरले यो पण्डाल निर्माण गरेको पूजा समितिका संयोजक विजय साहले बताउनुभयो।

भद्रपुर–६ मा निर्माण गरिएको पण्डालमा सिनियर पुरुष, महिला तथा पूर्वराष्ट्रिय खेलाडीहरू गरी ३५ जना खेलाडीको तस्बिर समावेश गरिएको छ। समितिका सदस्य पार्थ मण्डलका अनुसार आगामी सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी–ट्वान्टी विश्वकपमा नेपाली टोलीले अझ ठूलो सफलता प्राप्त गरोस् भन्ने कामनाका साथ यो पण्डाल निर्माण गरिएको हो।

“हामीले छोटो समयमा विभिन्न सहयोगी दाताको साथ र समर्थनमा राष्ट्रियता झल्काउने पण्डाल निर्माण गर्न सफल भएका हौँ,” संयोजक साहले बताउनुभयो। “पण्डाललाई स्थानीयहरूले निकै रुचाएका छन् र यसको प्रशंसा पनि गरेका छन्।”

समितिका अनुसार पण्डाल, बिजुली बत्ती सजावट र सांगीतिक कार्यक्रमलगायतका लागि करिब रु. ७ लाख खर्च हुने अनुमान गरिएको छ। साथै, कात्तिक ७ गते पूजास्थलमा स्थानीय तथा भारतीय कलाकारहरूको सहभागितामा बृहत् सांगीतिक कार्यक्रम आयोजना गरिने भएको समितिका सदस्य निर्मल घोषले जानकारी दिनुभयो।

बङ्गाली समुदायका युवाहरूले स्थापना गरेको क्लब बाङ्गला भद्रपुरले विगत नौ वर्षदेखि विभिन्न आकृतिमा पण्डाल निर्माण गर्दै कालीपूजा आयोजना गर्दै आएको छ। अघिल्लो वर्ष उक्त क्लबले केदारनाथ मन्दिरको आकृतिमा पण्डाल निर्माण गरेको थियो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.