सर्लाही, कात्तिक ५ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा सम्पन्न प्रदेशस्तरीय खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि महाकाली युवा क्लब, लालबन्दी–१७ रानिगञ्जले जितेको छ।
रोमाञ्चक फाइनल खेलमा महाकालीले बेङ्गाडावर युवा क्लब, धनुषालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। खेलको पहिलो हाफको अतिरिक्त समयमा अङ्कित मगरले गरेको गोल नै निर्णायक बनेको थियो।
जितसँगै विजेता महाकाली युवा क्लबले ट्रफीसहित नगद ५१ हजार ५५५ रुपैयाँ, जबकि उपविजेता बेङ्गाडावर युवा क्लबले ३१ हजार ५५५ रुपैयाँ प्राप्त गरेको छ।
दुवै टोलीका लागि नगद पुरस्कार ईश्वरपुर नगरपालिका–६ निवासी सुनिता आचार्यले उपलब्ध गराएको आयोजक धनजोरटोल जनकल्याण युवा सङ्घ, ईश्वरपुर–६ले जनाएको छ।
प्रतियोगिताको समापन समारोहमा पूर्व राष्ट्रिय खेलाडीहरूमध्ये फुटबलका आदित्य चौधरी, भलिबलका रामाशङ्कर चौधरी, कराँतेका ध्वजमान मोक्तान, कबड्डीका लक्ष्मण महतो, र जुडोका रमेश बस्नेतलाई सम्मान गरिएको थियो। साथै साहित्य र विज्ञान क्षेत्रमा विशेष योगदान दिएको भन्दै सरोजप्रसाद साहलाई प्रमाणपत्रसहित सम्मान गरिएको आयोजकले जनाएको छ।
समापन समारोहका प्रमुख अतिथि मधेश प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) गोविन्द थपलिया, ईश्वरपुर नगरप्रमुख मनोजकुमार आचार्यलगायत अतिथिहरूले विजेता, उपविजेता टोलीका खेलाडी र सम्मानित व्यक्तिहरूलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्