दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृङ्खलामा शाहीन शाह अफ्रिदीलाई पाकिस्तानको कप्तानी
रावलपिन्डी (पाकिस्तान), कात्तिक ४ गते । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले आगामी महिना दक्षिण अफ्रिकासँग हुने तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलाका लागि तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई कप्तान नियुक्त गरेको छ।
गत अक्टोबरमा बाबर आजमले राजीनामा दिएपछि मोहम्मद रिजवानले एकदिवसीय टोलीको नेतृत्व सम्हाल्दै आएका थिए। तर, इस्लामावादमा भएको बैठकपछि पिसिबीले नयाँ कप्तानका रूपमा अफ्रिदीलाई जिम्मेवारी दिएको हो।
पिसिबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
“मुख्य प्रशिक्षक माइक हेसनको उपस्थितिमा चयन समितिले दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय टोलीको कप्तानी शाहीन शाह अफ्रिदीले गर्ने निर्णय गरेको हो।”
दक्षिण अफ्रिकासँगको तीन खेलको शृङ्खला नोभेम्बर ४, ६ र ८ मा फैसलाबादमा हुनेछ।
सन् २०२४ नोभेम्बरमा अस्ट्रेलियामा पाकिस्तानले २२ वर्षपछि पहिलो एकदिवसीय शृङ्खला जित्दै रिजवानको कप्तानीमा राम्रो सुरुवात गरेको थियो। त्यसपछि पाकिस्तानले दक्षिण अफ्रिकालाई ३–० ले र जिम्बाबेलाई २–१ ले हराएको थियो।
तर, यसै वर्ष पाकिस्तान घरेलु त्रिकोणात्मक सिरिजको फाइनलमा न्युजिल्यान्डसँग पराजित भएको थियो। साथै, फेब्रुअरीमा भएको च्याम्पियन्स ट्रफीको पहिलो चरणबाटै बाहिरिनु पर्यो।
रिजवानको कप्तानी अन्तर्गत पाकिस्तानको सबैभन्दा खराब प्रदर्शन वेस्ट इन्डिज भ्रमणमा देखिएको थियो, जहाँ टोलीले २–१ ले शृङ्खला गुमाएको थियो। यो पाकिस्तानले ३४ वर्षपछि क्यारेबियन राष्ट्रसँग शृङ्खला गुमाएको पहिलो घटना थियो।
शाहीन शाह अफ्रिदीले यसअघि गत वर्ष जनवरीमा न्युजिल्यान्डविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय पाँच खेलमा पाकिस्तानको कप्तानी गरेका थिए। तर, न्यूजिल्यान्डसँग ४–१ को हार बेहोरेपछि उनलाई कप्तानीबाट हटाइएको थियो।

टिप्पणी लेख्नुहोस्