पाल्पामा ज्योति पुञ्ज युवा क्लबको विजय, तेस्रो ज्योति पुञ्ज कपको उपाधि हातमा
पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा सम्पन्न तेस्रो ज्योति पुञ्ज कप फुटबल प्रतियोगिताको उपाधि आयोजक ज्योति पुञ्ज युवा क्लबले जितेको छ।
फाइनल खेलमा ज्योति पुञ्जले "दोस्रो संस्करणको विजेता युनाइटेड युथ क्लब, गिरुबारी (नवलपुर)"लाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो। ज्योति पुञ्जका सुमित श्रेष्ठले गरेको एक मात्र गोल टोलीको विजयी गोल बनेको थियो।
विजेता ज्योति पुञ्जले रु. ३ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता युनाइटेड युथ क्लबले रु. २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो।
त्यस्तै, सेमिफाइनलमा पराजित अभिषेक चर्च रजहर र देवदह ब्वाइजले जनही रु. २५ हजारका नगद पुरस्कार प्राप्त गरे।
प्रतियोगितामा उत्कृष्ट खेलाडी ज्योति पुञ्जका आशिष गुरुङ, उत्कृष्ट गोलकिपर सरोज तामाङ (ज्योति पुञ्ज), उत्कृष्ट डिफेन्डर सुमित मल्लाह (युनाइटेड), सर्वाधिक गोलकर्ता आशिष जिसी (देवदह ब्वाइज), उदीयमान खेलाडी यामप्रसाद बुढा (युनाइटेड) र उत्कृष्ट प्रशिक्षक केशवराज श्रेष्ठ (ज्योति पुञ्ज) घोषित भए।
समापन समारोहमा प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले प्रतियोगिताले नयाँ खेल प्रतिभालाई आकर्षित गरेको बताउनुभयो। उहाँका अनुसार, किसान बारीमा रङ्गशाला निर्माणका लागि नगरपालिकाले रु. २ करोड विनियोजन गरेको छ।

टिप्पणी लेख्नुहोस्