झापामा पहिलोपटक अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल, तयारी अन्तिम चरणमा
झापा, कात्तिक । यही कात्तिक १५ देखि २२ गतेसम्म झापामा आयोजना हुने अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढिरहेको छ।
आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार नवनिर्मित शिवसताक्षी नगरपालिकाको दुधे रङ्गशालामा प्रतियोगिता सञ्चालन हुनेछ। हाल मैदानको घाँस काट्ने, प्यारापिट सजाउने तथा दर्शकका लागि प्लास्टिकका कुर्सी जडान गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो। रङ्गशालाको प्यारापिटमा ३०० दर्शकका लागि बस्ने सुविधा बनाइएको छ।
शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ थोप्राले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न भौतिक संरचनाको काम द्रुत गतिमा भइरहेको बताउनुभयो। झापाको इतिहासमा पहिलोपटक अन्तरराष्ट्रिय स्तरको गोल्डकप फुटबल आयोजना हुन लागेकाले यसलाई भव्य र व्यवस्थित बनाउने उद्देश्य रहेको उहाँले बताउनुभयो।
आयोजक समितिले प्रतियोगिता सञ्चालनका लागि करिब रु एक करोड खर्च हुने अनुमान गरेको छ। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब लगायत तीन ए–डिभिजन क्लबका टोली सहभागी हुनेछन्। त्यस्तै भारत र भूटानका टोलीहरू पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जनाइएको छ।
विजेता टोलीलाई रु १० लाख, उपविजेता टोलीलाई रु पाँच लाख पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई रु १ लाख ५० हजार, र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई रु २५–२५ हजार पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित खेलाडीले रु १५ हजार प्राप्त गर्नेछन्।
आयोजकले यो प्रतियोगितामार्फत स्थानीय फुटबल विकाससँगै महिला खेलाडीहरूको स्तर अभिवृद्धिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेको छ।

टिप्पणी लेख्नुहोस्