लेख विवरण

प्रोग्रेसिभ युवा क्लब सप्तकोशीलाई प्रथम पचशिल्ड फुटबलको उपाधि

प्रोग्रेसिभ युवा क्लब सप्तकोशीलाई प्रथम पचशिल्ड फुटबलको उपाधि

सप्तरी, कात्तिक ६ गते । सप्तरीको तिरहुत गाउँपालिका–५, लोहजाराद्वारा आयोजित प्रथम पचशिल्ड फुटबल प्रतियोगिता–२०८२ को उपाधि प्रोग्रेसिभ युवा क्लब सप्तकोशी, सप्तरी ले हात पारेको छ।

बुधबार सरस्वती मावि लोहजाराको खेलमैदानमा सम्पन्न फाइनल खेलमा सप्तकोशीले सुन्दरपुर युवा क्लब, उदयपुर लाई ट्राइबेकरमा ५–६ गोलान्तरले पराजित गर्दै उपाधि जितेको हो।

खेलको सुरुवाती चरणमै सुन्दरपुरका जर्सी नम्बर ७ अनिश बस्नेतले ७औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै सप्तकोशीका जर्सी नम्बर १९ युवेन राईले बराबरी गोल गरेपछि खेल रोमाञ्चक बनेको थियो।

निर्धारित ६० मिनेटको खेल बराबरीमा टुंगिएपछि ट्राइबेकरमा निर्णय गरिएको थियो। पेनाल्टीमा सुन्दरपुरका एक खेलाडीको प्रहार पोलमा ठोक्किँदा गोल हुन नसक्दा सप्तकोशीले ५–६ गोलान्तरले जित हात पारेको आयोजक समितिले जनाएको छ।

फाइनल खेलपछि तिरहुत गाउँपालिका–५ का वडाध्यक्ष रमानन्द चौधरीको अध्यक्षतामा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विजयकुमार यादव, वडाध्यक्षहरू सञ्जीव नारायण यादव, बलराम यादव र जिल्ला खेलकुद विकास समितिका सीताराम चौधरी लगायतले विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा विजेता टोलीलाई रु ५१ हजार, उपविजेतालाई रु २५ हजार, साथै शिल्ड, कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। उत्कृष्ट खेलाडीको पुरस्कार सुन्दरपुरका जर्सी नम्बर ७ अनिश बस्नेत ले हात पारेका छन्।

तिहार र छठ पर्वको अवसरमा आयोजित यस प्रतियोगितामा कुल ८ टोली सहभागी थिए — श्री श्री १०८ श्री ठाकुर बाबा युवा क्लब तिरहुत–५ लोहजरा, एमपी एफसी फुटबल क्लब तालिम केन्द्र राजविराज, तालतलैया फुटबल क्लब इटहरी (सुनसरी), प्रोग्रेसिभ युवा क्लब सप्तकोशी (सप्तरी), एफसी फुटबल क्लब झुम्का (सुनसरी), डिग्री फुटबल क्लब विराटनगर (मोरङ), सुन्दरपुर युवा क्लब (उदयपुर) र वि एफसी युवा क्लब बेलडाँगी (मोरङ)

प्रतियोगिताले प्रदेश १ र मधेस प्रदेशका युवाबीच आपसी मित्रता र खेलकुदको सम्बन्ध सुदृढ गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.