अस्ट्रेलियाले भारतलाई दोस्रो एकदिवसीयमा दुई विकेटले हराउँदै सिरिज जित्यो
सिड्नी । अस्ट्रेलियाले भारतमाथि दोस्रो एकदिवसीय खेलमा रोमाञ्चक दुई विकेटको जित दर्ता गर्दै तीन खेलको सिरिजमा २–० को अपराजय अग्रता हासिल गरेको छ। टस जितेर पहिले बलिङ रोजेको अस्ट्रेलियाले भारतलाई ५० ओभरमा नौ विकेट गुमाएर २६४ रनमै रोक्यो र लक्ष्य ४६.२ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो।
भारतका लागि कप्तान रोहित शर्मा र श्रेयस अय्यरले अर्धशतक प्रहार गरे। रोहितले ५८ रन र अय्यरले ५६ रनको योगदान दिए। भारतले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २६४ रन बनाएको थियो।
लक्ष्यको पीछा गर्दा अस्ट्रेलियाले सुरुवाती दुई विकेट ५४ रनमै गुमायो, तर म्याथ्यू सर्टले जिम्मेवार ब्याटिङ गर्दै अर्धशतक पूरा गरे। उनीसँगै म्याट रेन्शॉले पनि राम्रो साझेदारी गरे। भारतले रेन्शॉ र एलेक्स केरीका विकेट लिएपछि दबाब बनाएको थियो, त्यसपछि हर्षित राणाले सर्टलाई पनि पभेलियन फर्काए। तर कोपर कोनोलीले इनिङ सम्हाल्दै अस्ट्रेलियालाई जितसम्म पुर्याए।
अस्ट्रेलियाका लागि सर्टले सर्वाधिक ७४ रन बनाए भने कोनोली ६१ रनमा नटआउट रहे। मिचेल ओभनले ३६ रन, रेन्शॉले ३०, ट्राभिस हेडले २८, मिचेल मार्शले ११, केरीले ९, मिचेल स्टार्कले ४ र जेभियर बार्टलेटले ३ रन बनाए।
भारतका बलरमध्ये अर्शदीप सिंह, हर्षित राणा र वासिंगटन सुन्दरले दुई–दुई विकेट लिए भने मोहम्मद सिराज र अक्षर पटेलले एक–एक विकेट जोडे।
यो जितसँगै अस्ट्रेलियाले सिरिजमा २–० को अग्रता लिँदै अन्तिम खेलअघि नै सिरिज आफ्नो पक्षमा पक्का गरेको छ।

टिप्पणी लेख्नुहोस्