पूर्व कप्तान बाबर आजमको पुनरागमन, पाकिस्तानको टी–२० टोलीमा फर्किए
इस्लामाबाद । पाकिस्तानका पूर्व कप्तान बाबर आजम पुनः राष्ट्रिय टी–२० टोलीमा फर्किएका छन्। डिसेम्बर २०२४ मा दक्षिण अफ्रिकाविरुद्धको सिरिजपछि उनलाई टी–२० टोलीबाट बाहिर राखिएको थियो। एशिया कपमा पाकिस्तानको निराशाजनक प्रदर्शनपछि चयनकर्ताहरूले फेरि बाबरमाथि भरोसा गरेका छन्, यद्यपि उनी हालका दिनमा सबै प्रारूपमा कमजोर प्रदर्शन गरिरहेका छन्।
विकेटकिपर–व्याट्सम्यान मोहम्मद रिजवानलाई भने टी–२० टोलीमा स्थान मिलेको छैन। हालै उनलाई एकदिवसीय टोलीको कप्तानीबाट हटाइएको थियो। बाबरको टी–२० टोलीमा पुनरागमन सन् २०२६ मा हुन गइरहेको टी–२० विश्वकपअघि भएको हो।
पाकिस्तानले आगामी दक्षिण अफ्रिका भ्रमणका लागि टी–२० र एकदिवसीय टोली घोषणा गरेको छ। त्यस्तै, श्रीलंका र जिम्बाब्वेविरुद्ध घरेलु मैदानमा खेलिनै त्रिकोणीय टी–२० सिरिजका लागि पनि टोली सार्वजनिक गरिएको छ।
वनडे टोलीको नेतृत्व शाहीन शाह अफ्रीदीले गर्नेछन्। दुवै वनडे सिरिजका लागि मोहम्मद रिजवानलाई विकेटकिपरको रूपमा कायम राखिएको छ। पाकिस्तानले पहिलो चरणमा दक्षिण अफ्रिकाविरुद्ध तीन टी–२० र तीन एकदिवसीय खेल खेल्नेछ। त्यसपछि श्रीलंका विरुद्ध तीन एकदिवसीय खेल हुनेछ। अफगानिस्तानले नाम फिर्ता लिएपछि त्रिकोणीय टी–२० सिरिज अब पाकिस्तान, श्रीलंका र जिम्बाब्वेबीच नोभेम्बर १७ देखि सुरु हुनेछ।
लेग स्पिनर शादाब खानले सलमान अली आगा सट्टा टी–२० कप्तान बन्न सक्ने अड्कलाका बीच चयनकर्ताहरूले एशिया कपमा कमजोर प्रदर्शनका बाबजुद सलमानलाइ नै कप्तान कायम राखेका छन्। शादाबलाई टी–२० टोलीमा स्थान दिइएको छैन।
पाकिस्तानको टी–२० टोलीः
सलमान अली आगा (कप्तान), अब्दुल समद, अबरार अहमद, बाबर आजम, फहीम अशरफ, हसन नवाज, मोहम्मद नवाज, मोहम्मद वसीम जुनियर, मोहम्मद सलमान मिर्जा, नसीम शाह, साहिबजादा फरहान, सैम अयूब, शाहीन शाह अफ्रीदी, उस्मान खान (विकेटकिपर), उस्मान तारिक।
रिजर्भ: फखर जमाँ, हारिस रऊफ, सुफियान मोकिम।
पाकिस्तानको एकदिवसीय टोलीः
शाहीन शाह अफ्रीदी (कप्तान), अबरार अहमद, बाबर आजम, फहीम अशरफ, फैसल अकरम, फखर जमाँ, हारिस रऊफ, हसीबुल्लाह, हसन नवाज, हुसैन तलत, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद वसीम जुनियर, नसीम शाह, सैम अयूब, सलमान अली आगा।

टिप्पणी लेख्नुहोस्