आईपीएल 2026: ईशान किशनलाई किन्न तीन टिमबीच प्रतिस्पर्धा, सनराइजर्स हैदराबादले रिलिज गर्ला?
मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करण अघि सनराइजर्स हैदराबादका विस्फोटक विकेटकिपर–ब्याट्सम्यान ईशान किशनलाई ‘चिठ्ठा’ परेको छ। भारतीय मिडिया रिपोर्टहरूका अनुसार आगामी अक्सनमा उनलाई किन्न तीन फ्रेन्चाइजबीच तीव्र प्रतिस्पर्धा हुने निश्चित भएको छ। यी टिमहरूले ट्रेड वा ‘फुल क्याश डिल’ मार्फत पनि ईशानलाई आफ्नो टिममा ल्याउन तयारी गरिरहेका छन्।
पछिल्लो सिजनमा हैदराबादले ईशानलाई मुम्बई इन्डियन्सबाट रिलिज भएपछि ११ करोड २० लाख रुपैयाँ खर्चेर अक्सनमा खरिद गरेको थियो। अब पुनः पुरानो टिम मुम्बई इन्डियन्सले उनलाई फिर्ता ल्याउने चासो देखाएको छ। यस्तै कोलकाता नाइट रायडर्स र राजस्थान रोयल्सले पनि उनलाई अक्सनमा लिने योजना बनाइरहेका छन्। तर मुख्य प्रश्न भनेको—के सनराइजर्स हैदराबादले उनलाई रिलिज गर्छ?
२७ वर्षका ईशान किशनले आईपीएल २०२५ को पहिलो खेलमै धमाकेदार प्रदर्शन गरेका थिए। उनले राजस्थान रोयल्सविरुद्ध केवल ४७ बलमा नटआउट १०६ रन बनाएका थिए, जसमा ११ चौका र ६ छक्का समावेश थियाे। तर त्यसपछि उनको ब्याट शान्त रह्यो र १० इनिङ्समा कुनै अर्धशतक निकाल्न सकेनन्। आरसीबीविरुद्धको ११औं खेलमा उनले पुनः ४८ बलमा नटआउट ९४ रन बनाए। कुल १३ इनिङ्समा उनले ३५.४० को औसत र १५२.५९ को स्ट्राइक रेटका साथ ३५३ रन जोडे।
ईशानको प्रमुख विशेषता भनेको उनी उत्कृष्ट ब्याट्सम्यानसँगै सक्षम विकेटकिपर पनि हुन्। यसैले कुनै टिमले अतिरिक्त ब्याट्सम्यान राख्ने आवश्यकता नपर्ने हुँदा उनी मागमा रहेका छन्। मुम्बई र कोलकाताको ओपनिङ जोडी गत सिजन कमजोर प्रदर्शनमा रहेकाले यी टिमहरू उनलाई आफ्नो ओपनिङ सुदृढ गर्न उपयुक्त विकल्पका रूपमा हेर्दैछन्। त्यस्तै, रिपोर्टअनुसार राजस्थानका कप्तान संजू सामसन अर्को सिजन टीम छोड्न सक्ने सम्भावना रहेकोले, किशन त्यस टिमका लागि पनि उत्कृष्ट ब्याट्सम्यान/विकेटकिपर विकल्प बन्न सक्छन्।

टिप्पणी लेख्नुहोस्