अकल्याण्ड – इंग्ल्यान्ड र न्यूजिल्यान्डबीचको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल भारी वर्षाका कारण २२ बलमै रद्द भएको छ। खेल रद्द भएपछि ह्यारी ब्रुक नेतृत्वको इंग्ल्यान्डले १–० ले सिरिज जितेको छ।
अकल्याण्डको इडन पार्कमा न्यूजिल्यान्डले टस हारेर ब्याटिङ गर्दै पहिलो इनिङ्समा तीन बलमा आठ रन बनाएको थियो। त्यसपछि परेको वर्षाले खेल ९० मिनेट रोकिन पुग्यो। खेल पुनः सुरु हुँदा दुवै पक्षलाई १४ ओभरमा सीमित गरिएको थियो। तर, कीवी टोली ३८ रनमा एक विकेट गुमाइसकेपछि पुनः वर्षा भएपछि खेल पुनः रोकियो।
राति १० बजेबाट आठ ओभरको खेल पुनः सुरु गर्ने तयारी भइरहेको अवस्थामा अर्को भारी वर्षा भएपछि खेल अन्ततः रद्द गर्नुपर्यो।
इंग्ल्यान्डका ब्राइडन कार्सले एक मात्र विकेट लिएका थिए। उनले टिम रोबिन्सनलाई आउट गराएका थिए, जसलाई जेकब बेट्थेलले बाउन्ड्री लाइनमा क्याच समातेका थिए।
यसअघि सिरिजको पहिलो खेल क्राइस्टचर्चमा पनि वर्षाका कारण रद्द भएको थियो। तर दोस्रो खेलमा इंग्ल्यान्डले ह्याग्ली ओभलमा कीवी टोलीलाई ६५ रनले पराजित गरेको थियो।
अब दुबै टोली आइतबारदेखि सुरु हुने तीन खेलको एकदिवसीय सिरिजतर्फ ध्यान केन्द्रित गर्नेछन्। यो सिरिज इंग्ल्यान्डका केही खेलाडीका लागि आगामी एशेज तयारीको हिस्सा पनि हुनेछ।
टिप्पणी लेख्नुहोस्