लेख विवरण

विश्वकप लिग–२ : आरिफ शेख सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान

विश्वकप लिग–२ : आरिफ शेख सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान

काठमाडौं। जारी आइसीसी विश्वकप लिग–२ मा नेपाली ब्याट्सम्यान आरिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै हालसम्म नेपालका लागि सर्वाधिक रन बनाएका छन्।

आरिफले १० इनिङ्समा ३८४ रन बनाउँदै टिमका लागि निरन्तर योगदान दिइरहेका छन्। उनी पछाडि आसिफ शेख १४ इनिङ्समा ३०१ रनका साथ दोस्रो स्थानमा छन्।

तेस्रो स्थानमा कुशल भुर्तेल (१३ इनिङ्समा २९१ रन), कप्तान रोहित पौडेल (१३ इनिङ्समा २८२ रन) र भिम शार्की (१० इनिङ्समा २६२ रन) रहेका छन्।

अन्य प्रमुख प्रदर्शनकर्तामध्ये गुल्सन झा (११ इनिङ्समा २३० रन), अनिल शाह (११ इनिङ्समा २०९ रन), करण केसी (११ इनिङ्समा २०७ रन), दिपेन्द्र ऐरी (९ इनिङ्समा १७७ रन) र सोमपाल कामी (९ इनिङ्समा १६९ रन) रहेका छन्।

आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकाको सामना गर्ने भएको छ ।

 आइतबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुने लिग–२ को पहिला खेलमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

लिग–२ अन्तर्गत युएई र अमेरिकासँग हुने शृङ्खलामा रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रने छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई हटाएर विश्वकप लिग–२ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ ।

लिग–२ अन्तर्गत युएई र अमेरिकासँगको शृङ्खलाका खेल कात्तिक ९ आइतबारदेखि १९ गते बुधबारसम्म युएईमा हुँदैछ । नेपालले आइतबार अमेरिकासँग प्रतिस्पर्धा गरेर यूएई शृङ्खलाको सुरुवात गर्दैछ । दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार युएईसँग भिड्ने तालिका छ ।

विश्वकप लिग–२ मा १२ खेल खेलेको नेपालले १६ अङ्क जोडेको छ । समान खेल खेलेको युएईको ६ अंक छ । तालिकामा नेपाल सातौं स्थानमा छ भने युएई आठौं स्थानमा छ । २० खेल खेलिसकेको अमेरिका २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.