लेख विवरण

इन्दौरमा अस्ट्रेलियाली महिला क्रिकेट खेलाडीहरूमाथि दुर्व्यवहार, आरोपित पक्राउ

इन्दौरमा अस्ट्रेलियाली महिला क्रिकेट खेलाडीहरूमाथि दुर्व्यवहार, आरोपित पक्राउ

इन्दौर। भारतको इन्दौरमा आइसीसी महिला क्रिकेट विश्वकपमा सहभागी हुन आएकी दुई अस्ट्रेलियाली खेलाडीहरूमाथि दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ।

घटना बिहीबार बिहान करिब ११ बजेको हो, जब दुवै खेलाडी होटल र्‍याडिसन ब्लूबाट निस्किएर पैदल रूपमा नजिकैको क्याफेतर्फ जाँदै थिए। सो क्रममा खजराना रोडमा मोटरसाइकलमा आएका युवकले दुर्व्यवहार गरेको बताइएको छ।

पिडित खेलाडीहरूको उजुरीपछि प्रहरीले तत्काल कारबाही गर्दै अकील उर्फ नाइट्रा नामका युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार आरोपित कुख्यात बदमास हो र उसविरुद्ध पाँच आपराधिक मुद्दा दर्ता छन्। पक्राउ अभियान करिब छ घण्टासम्म चलेको विशेष अपरेशन अन्तर्गत गरिएको थियो।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव देवजीत सैकियाले घटनालाई “दुर्भाग्यपूर्ण र देशको छवि धमिलो पार्ने” घटना भनेका छन्। उनले इन्दौर प्रहरीले छिटो कारबाही गरी आरोपितलाई पक्राउ गरेकोमा सराहना व्यक्त गरेका छन्। सैकियाले भने, “कानुन आफ्नो काम गर्नेछ, दोषीलाई सजाय हुनेछ।”

इन्दौर प्रहरीले भारतीय न्याय संहिता (BNS) को धारा ७४ (महिलाको लज्जा भंग गर्ने उद्देश्यले आक्रमण वा बल प्रयोग) र धारा ७८ (महिलाको लगातार पछ्याउने वा स्टकिङ) अन्तर्गत मुद्दा दर्ता गरेको छ।

घटनापछि इन्दौरमा सुरक्षाको कमजोरी र प्रहरीको लापरवाहीबारे गम्भीर प्रश्न उठेका छन्। खेलाडीहरूको भ्रमणका क्रममा न त अतिरिक्त सुरक्षा बल परिचालन गरिएको थियो, न त पेट्रोलिङ बढाइएको थियो, जसका कारण यो अप्रिय घटना घटेको बताइएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.