लेख विवरण

आईसीसी महिला विश्वकप २०२५ : अस्ट्रेलियाको लगातार छैटौं जित, अलाना किङको उत्कृष्ट प्रदर्शन

आईसीसी महिला विश्वकप २०२५ : अस्ट्रेलियाको लगातार छैटौं जित, अलाना किङको उत्कृष्ट प्रदर्शन

नयाँ दिल्ली। आईसीसी महिला एकदिवसीय विश्वकप २०२५ को २६औं खेलमा अस्ट्रेलिया महिला क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको छ। यो जितसँगै अस्ट्रेलियाले प्रतियोगितामा लगातार छैटौं जित दर्ता गरेको हो, जबकि दक्षिण अफ्रिकाले दोस्रो हार व्यहोर्नु परेको छ। यद्यपि, दुवै टोलीले पहिल्यै सेमिफाइनलमा स्थान सुनिश्चित गरिसकेका छन्।

पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकाको टोली २४ ओभरमा मात्र ९७ रनमा अलआउट भयो। टिमले राम्रो सुरुवात गरे पनि पहिलो विकेटका लागि ३२ रन जोडेपछि विकेट पतन सुरु भयो।
कप्तान लौरा वोल्वार्ड्टले ३१ र विकेटकिपर सिनालो जाफ्ताले २९ रन योगदान दिए। त्यस्तै नाडिन डी क्लर्कले १४ रन बनाए भने बाँकी ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन्। दुई खेलाडीले त खाता समेत खोल्न सकेनन्।

पहिलो ६ विकेट टोलीले २८ रनको अन्तरभित्रै गुमाएको थियो। अन्त्यतिर अन्तिम चार ब्याटरहरूको सानो साझेदारीले स्कोरलाई ९७ रनसम्म पुर्‍यायो।

अस्ट्रेलियाकी स्पिनर अलाना किङले उत्कृष्ट बलिङ गर्दै ७ ओभरमा २ मेडनसहित १८ रन खर्चेर ७ विकेट लिईन्। यो उनको एकदिवसीय करियरको दोस्रो फाइभ विकेट हॉल र अहिलेसम्मको सर्वश्रेष्ठ प्रदर्शन हो।

उनीले सुने लुस (६), मरिजान क्याप (०), एनेरी डर्कसेन (५), क्लो ट्रायोन (०), सिनालो जाफ्ता (२९), मसाबाता क्लास (४) र नाडिन डी क्लर्क (१४) लाई आउट गरेकी थिइन्।

यो प्रदर्शनसँगै अलाना किङ अस्ट्रेलियाका लागि महिला एकदिवसीय क्रिकेटमा एक खेलमा सर्वाधिक विकेट लिने बलर बनेकी छिन्। उनले एलिस पेरीको २०१९ मा इङ्ग्ल्यान्डविरुद्ध ७ विकेट लिएर २२ रन खर्चेको रेकर्ड तोडिन्। साथै, उनी महिला विश्वकप इतिहासमै ७ विकेट लिने पहिलो बलर समेत बनेकी छन्।

९८ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले १६.५ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै सहज जित दर्ता गर्‍यो।
टिमका लागि बेथ मुनीले ४२ रन र जर्जिया वोलले ३८ रन बनाउँदै नटआउट रहिन्।

अलाना किङ अब अस्ट्रेलियाका लागि एकदिवसीयमा दुईपटक फाइभ विकेट हॉल लिने तेस्री बलर बनेकी छन्। उनले लिन फुलस्टन र जेस जोनासेनको बराबरी गरेकी छिन्।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.