भारतमाथि नेपाल विजयी, सावित्राको दुई गोल
काठमाडौं। ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले भारतलाई पराजित गरेको छ।
शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा शनिबार भएको खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा)को दुई गोलको मद्दतमा नेपालले भारतलाई २–१ ले हराएको हो।
प्रतियोगिताको उपाधि भने यसअघि नै इरानले सुनिश्चित गरिसकेको थियो। इरानले यसअघि भारतलाई २–० र नेपाललाई ३–० ले हराउँदै शीर्ष स्थान हात पारेको हो।
सान्त्वनात्मक जितका लागि मैदानमा उत्रिएको नेपालले खेलको सुरुआतदेखि नै आक्रामक प्रदर्शन गरेको थियो। दोस्रो मिनेटमै साम्बाले डिफेन्स लाइनबाट आएको लामो क्रसमा गोल गर्दै नेपाललाई अग्रता दिलाइन्।
दोस्रो हाफमा पनि साम्बाले उत्कृष्ट प्रदर्शन दोहोर्याइन्। उनले खेलको ६३औं मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाइन्। भारतीय गोलकिपरले उनको शट रोक्न नसकेकी थिइन्।
भारतका करिश्मा सिरभोकरले ८१औं मिनेटमा निर्मला देवीको फ्रिकिकबाट आएको बल बाउन्स हुँदै गोल फर्काइन्। तर त्यो बराबरीका लागि पर्याप्त रहेन र नेपालले खेल २–१ ले जित्यो।
भारतविरुद्ध फेरि एकपटक सावित्रा भण्डारी नै नायक बनिन्। उनले भारतविरुद्ध हालसम्म १० गोल गरिसकेकी छन् भने समग्रमा ६८ गोल सहित नेपालको सर्वाधिक गोलकर्ताको रूपमा आफूलाई स्थापित गरेकी छन्।
पहिलो खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको थियो। उपाधि जित्ने लक्ष्यका साथ शिलाङ पुगेको नेपालको सो आशा पहिलो खेलमै समाप्त भएको थियो।

टिप्पणी लेख्नुहोस्