आर्सनलको कठिन जित, म्यानचेस्टर सिटी पराजित
काठमाडौँ, कात्तिक १० गते। इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले क्रिस्टल प्यालेसमाथि कठिन जित दर्ता गरेको छ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई १–० गोलले हराएको हो। आर्सनलका लागि एबेरेची एजेले खेलको ३९औँ मिनेटमा निर्णायक गोल गरेका थिए।
यो जितसँगै आर्सनलले नौ खेलबाट २२ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ। पराजित क्रिस्टल प्यालेस १३ अंकसहित दशौँ स्थानमा छ।
उता, अर्को खेलमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग १–० गोलले पराजित भएको छ। आफ्नै मैदानमा भएको खेलमा एस्टन भिल्लाले जित निकाल्दै १५ अंकसहित आठौँ स्थानमा उक्लिएको छ। पराजित सिटी १६ अंकसहित पाँचौँ स्थानमा झरेको छ।
अन्य खेलमा टोट्टनहामले एभर्टनलाई ३–०, बर्नलीले उल्भरह्याम्पटनलाई ३–२ र बर्नमाउथले नटिङ्घम फरेस्टलाई २–० गोलले पराजित गरेका छन्।

टिप्पणी लेख्नुहोस्