लेख विवरण

एलभिडी प्रथम झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक

एलभिडी प्रथम झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक

झापा । एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगिता यही कात्तिक १५ गतेदेखि शिवसताक्षी नगरपालिका–८, दुधे रंगशालामा सुरु हुने छ।

सोमबार पत्रकार सम्मेलनमार्फत आयोजक झापा महिला गोल्डकपले खेल तालिका सार्वजनिक गरेको हो। आयोजक समितिका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार प्रतियोगितामा नेपालका तीन विभागीय टिम — त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब — सहित सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब र भारतको सिक्किमस्थित सिङ्लिङ स्पोर्टिङ क्लब सहभागी हुने छन्।

उद्घाटन खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।
कात्तिक १६ गते दोस्रो खेलमा नेपाल एपीएफ क्लब र भारतको सिङ्लिङ स्पोर्टिङ क्लब आमनेसामने हुनेछन्।
तेस्रो खेलमा (कात्तिक १७ गते) सङ्कटा क्लबले झापा फुटबल क्लबसँग खेल्नेछ भने चौथो खेल (कात्तिक १८ गते) त्रिभुवन आर्मी क्लब र आरएस पोखरा क्लबबीच हुनेछ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल कात्तिक १९ गते र दोस्रो सेमिफाइनल खेल कात्तिक २० गते हुनेछ। फाइनल खेल कात्तिक २२ गते आयोजना हुने तय गरिएको छ।

आयोजकले दुधे रंगशालामा ३ हजार दर्शक क्षमताको स्थायी प्यारापिटमा कुर्सी जडान र १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट निर्माण पूरा गरेको जनाएको छ। अतिथि र विशेष दर्शकका लागि ३०० सिटको व्यवस्था गरिएको छ।

झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता भव्य र व्यवस्थित बनाउन तयारी अन्तिम चरणमा पुगेको छ। विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ भने सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ।

आयोजक समितिले यो प्रतियोगितालाई महिला खेलाडीलाई प्रेरित गर्ने र ग्रासरुट स्तरमा महिला फुटबलको विकास गर्ने अभियानको रूपमा अघि सारेको जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.