एनपिएल फ्रेन्चाइज टोली कर्णाली याक्सलाई एसियन पेन्ट्सको सहप्रायोजन
काठमाडौँ, कात्तिक ११ गते। नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सलाई एसियन पेन्ट्सले सहप्रायोजन गर्ने भएको छ।
यस सम्बन्धी प्रायोजन सम्झौता पत्रमा मङ्गलबार कर्णाली याक्स स्पोर्ट्स प्रालिका निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्सका प्रतिनिधिले हस्ताक्षर गरे। सम्झौता पछि बोल्दै निर्देशक घिमिरेले नेपाली क्रिकेटको विकासमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण र प्रेरणादायी भएको बताए।
“एसियन पेन्ट्ससँगको सहयात्राले कर्णाली याक्सलाई थप बलियो बनाउनेछ,” घिमिरेले भने, “फ्रेन्चाइज क्रिकेटले प्रदेश र स्थानीय स्तरमा खेल प्रतिभा विकासमा ठुलो भूमिका खेलिरहेको छ।”
आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने दोस्रो संस्करणको एनपिएलमा कर्णाली याक्सले आफ्नो उपस्थिति झन् प्रभावकारी बनाउने तयारी गरेको छ।
अघिल्लो संस्करणमा टोलीले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। यसपटक पनि टोलीमा राष्ट्रिय खेलाडी सोमपाल कामी मार्की खेलाडीका रूपमा रहेका छन् भने ज्ञानेन्द्र मल्ल प्रशिक्षकको भूमिकामा छन्।
कर्णाली याक्सले आगामी संस्करणमा प्रदेशका युवा खेलाडीलाई अवसर दिने र प्रतिस्पर्धी टोलीको रूपमा आफ्नो परिचय थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

टिप्पणी लेख्नुहोस्