तेस्रो मदन भण्डारी कपको उपाधि भजनी नगर कमिटीलाई
घोडाघोडी (कैलाली), कात्तिक ११ गते। कैलालीको घोडाघोडी नगरपालिका–१०, पहलमानपुरमा सम्पन्न तेस्रो मदन भण्डारी कप अन्तर पालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि मदन भण्डारी स्पोर्टस् एकेडेमी भजनी नगर कमिटीले हात पारेको छ।
सोमबार साँझ सम्पन्न फाइनल खेलमा, भजनीले घरेलु टोली घोडाघोडी क्लब सुखडलाई ३–० गोलले पराजित गरेको हो। पहिलो हाफ गोलरहित रहँदा, दोस्रो हाफमा भजनीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन गोल गर्दै जित पक्का गरेका थिए।
विजेता टोली भजनी नगर कमिटीले ५२ हजार दुई सय ५० रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता घोडाघोडी क्लब सुखडले ३२ हजार २५० रुपैयाँमा चित्त बुझाएको छ।
प्रतियोगिताको आयोजना मदन भण्डारी स्पोर्टस् एकेडेमी घोडाघोडी नगर कमिटीले गरेको थियो।
समापन समारोहका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतले विजेता टोलीलाई पुरस्कार र ट्रफी प्रदान गरे।
सो अवसरमा नगरपालिकाका संस्थापक नगर प्रमुख तथा नेकपा एमाले कैलाली जिल्ला सचिव ममताप्रसाद चौधरी, वडा नम्बर ९ का वडाध्यक्ष हरिचन्द्र शाह लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, खेलप्रेमी, संघसंस्था र नागरिकहरूको उत्साहपूर्ण सहभागिता थियो। साथै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने व्यक्तिहरू र संस्थाहरूलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो।

टिप्पणी लेख्नुहोस्