नेपाल फुटबल खेलाडी संघद्वारा महिला टोलीको भारत भ्रमण व्यवस्थापनबारे गम्भीर आपत्ति
काठमाडौं । नेपाल फुटबल खेलाडी संघ (NFPA) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको भारत भ्रमणमा देखिएको अव्यवस्थित व्यवस्थापनबारे गम्भीर आपत्ति जनाएको छ।
संघले एक विज्ञप्ति जारी गर्दै हालैका दिनमा खेलकुदसम्बन्धी संचारमाध्यममा सार्वजनिक भएका खराब व्यवस्थापनका समाचारहरू सत्य रहेको पुष्टि खेलाडीहरूसँगको संवादपछि भएको जनाएको छ।
संघले भनेको छ, “नेपालको खेलकुदसम्बन्धी संचारमाध्यममा नेपाली महिला राष्ट्रिय टोलीका खेलाडीहरूको यात्रासम्बन्धी खराब व्यवस्थापनबारे आएको खबर हाम्रो गम्भीर ध्यानाकर्षणमा परेको छ। टिमका खेलाडीहरूसँग सोध्दा ती खबरहरू सत्य रहेको थाहा पाएका छौं।”
खेलाडी संघले खेल व्यवस्थापनका क्रममा खेलाडीको स्वास्थ्य र तयारीलाई पहिलो प्राथमिकता दिनुपर्नेमा त्यसको बेवास्ता गरिएको भन्दै असन्तुष्टि जनाएको छ। संघका अनुसार फिफाले दुई खेलबीच ७२ घण्टा विश्राम अनिवार्य गरेको भए पनि नेपाली टोलीलाई ४८ घण्टा पनि नपुग्ने समयमा अर्को खेल खेल्न लगाइएको छ।
संघले थप जनाएको छ कि खेलको भोलिपल्ट खेलाडीहरूलाई अपुग निन्द्रामा र भोकै अवस्थामा लामो दूरीको यात्रा गराइनु एन्फाको व्यवस्थापनगत कमजोरीको स्पष्ट उदाहरण हो।
“शिलोंगमा खेल खेल्न जाँदाको व्यवस्थापनमाथि प्रशिक्षकले नै प्रश्न उठाउँदा पनि एन्फाले कुनै कदम चाल्न नसक्नु आश्चर्यजनक थियो,” संघले भनेको छ, “तर यसपटक त एन्फाको आफ्नै नियन्त्रणमा भएको यात्रामा पनि अव्यवस्था हुनु गम्भीर विषय हो।”
संघले बागडोग्राबाट अझै ६ घण्टा गाडीमा यात्रा गरेर भोलिपल्ट खेल खेल्न लगाइएको विषयलाई मानवीय दृष्टिले अनुचित बताएको छ।
खेलाडी संघले जारी विज्ञप्तिमा भनिएको छ, “खेलाडीको स्वास्थ्यभन्दा ठूलो कुनै खेल हुँदैन। हामी या त खेल अर्को दिनका लागि स्थगित गर्न वा यो अनौपचारिक खेल भएकाले पुनः सोच्न आग्रह गर्दछौं।”
यस घटनाले एन्फाको व्यवस्थापन प्रणालीमाथि पुनः प्रश्न उठाएको छ भने खेलाडीहरूको हित र सुरक्षाप्रति एन्फाको जिम्मेवारीबोधबारे पनि व्यापक बहस सुरु भएको छ।

टिप्पणी लेख्नुहोस्