लेख विवरण

मन्त्री बब्लु गुप्ता : “नीतिगत भ्रष्टाचार अन्त्य नगरेसम्म देशको विकास सम्भव छैन”

मन्त्री बब्लु गुप्ता : “नीतिगत भ्रष्टाचार अन्त्य नगरेसम्म देशको विकास सम्भव छैन”

सिरहा, कात्तिक ११ गते। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा व्यापक रूपमा फैलिएको नीतिगत भ्रष्टाचारले राष्ट्रको विकास अवरुद्ध बनाइरहेको बताएका छन्।।

गृहजिल्ला सिरहाको भ्रमणका क्रममा जेनजी समूह लहानले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले शिक्षा, स्वास्थ्यदेखि खेलकुदसम्मका सबै क्षेत्रमा नीति र योजनाको स्तरमै हुने अनियमितताका कारण जनतामा असन्तुष्टि र निराशा बढिरहेको उल्लेख गरे।

उनले भने, “नीतिगत भ्रष्टाचारले देशको प्रणाली नै कमजोर बनाइरहेको छ। जबसम्म नीति बनाउने तहमै शुद्धता आउँदैन, तबसम्म विकासको सपना अधुरै रहन्छ।”

मन्त्री गुप्ताले हालै देशभर उठेको जेनजी आन्दोलनलाई युवाको परिवर्तनको चाहना र भ्रष्टाचारविरुद्धको जागरणको प्रतीकका रूपमा व्याख्या गरे। उनले भने, “जेनजी आन्दोलन केवल विरोध होइन, यो युवाको आवाज हो — रोजगारी, इमानदारी र समान अवसरको खोजीमा।”

लहानमा रहँदा मन्त्री गुप्ताले स्थानीय खेलकुद क्षेत्रका विवाद र अनियमितताबारे पनि चासो व्यक्त गरे। बलान पुल नजिक रहेको सात बिघाभन्दा बढी क्षेत्रफलको खेल मैदान सम्बन्धी जग्गा विवादमा उनले छानबिन सुरु भएको जानकारी दिए।

“खेलाडीको मैदान बेचबिखन हुने, नीतिगत अनियमितता देखिने अवस्था स्वीकार्य छैन,” मन्त्री गुप्ताले चेतावनीस्वरूप भने, “म आफैँले फाइल खोजी गरेर कारबाही प्रक्रियामा लैजानेछु।”

त्यसैगरी, उनले जेनजी सहिद विजय चौधरीको परिवारसँग भेटघाट गर्दै सहिदका सपना पूरा गर्ने प्रतिबद्धता जनाए। उनका अनुसार सहिदका नाममा शिक्षा, खेलकुद र युवा नेतृत्व विकास कार्यक्रम ल्याउने तयारी भइरहेको छ।

मन्त्री गुप्ताले अन्त्यमा भने, “अबको विकास युवाको सोच र सहभागितामै निर्भर छ। खेलकुद र रोजगारीका अवसरहरू सिर्जना नगरी देश अगाडि बढ्दैन।”

टिप्पणी लेख्नुहोस्

Please Login to comment.