नेपाली फुटबलको दीर्घकालीन विकासका लागि कार्यदल गठन, मन्त्री गुप्ताको पहलमा एन्फा र क्लबबीच छलफल
काठमाडौँ, कात्तिक १३ — नेपाली फुटबलको दीर्घकालीन विकास र संरचनागत सुधारका लागि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले बिहीबार मन्त्रालयमा एन्फाका पदाधिकारी र ए डिभिजन क्लबका प्रतिनिधिहरूसँग विशेष छलफल गरेका छन्।।
छलफलपछि मन्त्री गुप्ताले एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका छन्।। उक्त कार्यदलले पाँच दिनभित्र नेपाली फुटबलको दीर्घकालीन विकासका लागि ठोस खाका (रिपोर्ट) प्रस्तुत गर्नेछ।
छलफलका क्रममा मन्त्री गुप्ताले स्मारक ‘ए’ डिभिजन लिगको आयोजना, बजेट अभाव र क्लबहरूको समस्या सम्बन्धी विषयमा चासो व्यक्त गरेका थिए।।
एन्फा महासचिव किरण राईले मन्त्रालयलाई जानकारी दिँदै भने, “पर्याप्त बजेट नहुँदा लिग सञ्चालनमा कठिनाइ आएको छ।”
त्यसैगरी क्लबका प्रतिनिधिहरूले लिग आयोजना ढिलाइ हुँदा खेलाडी र क्लबहरू अनिश्चिततामा परेको बताए। उनीहरूले एन्फाले “होम एन्ड अवे” स्वरूपको लिग प्रस्ताव गरेर क्लबहरूलाई थप आर्थिक र व्यवस्थापकीय दबाबमा पार्ने प्रयास गरेको पनि बताएका थिए।
मन्त्री गुप्ताले छलफलको निष्कर्षमा भने, “फुटबल हाम्रो देशको लोकप्रिय खेल हो। यसको दीर्घकालीन विकासका लागि मन्त्रालय आवश्यक सहयोग र समन्वय गर्न तयार छ,” भन्दै लिग सञ्चालनमा मन्त्रालयको सहयोग रहने प्रतिबद्धता जनाए।
कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनका आधारमा मन्त्रालयले आगामी नीतिगत निर्णयहरू लिने तयारी गरेको छ।

टिप्पणी लेख्नुहोस्