लेख विवरण

अमेरिकन ब्याटर मिलिन्द कुमार काठमाडौँ गोर्खाजमा आवद्ध

अमेरिकन ब्याटर मिलिन्द कुमार काठमाडौँ गोर्खाजमा आवद्ध

काठमाडौँ, कात्तिक १३ — अमेरिकाका ब्याटर मिलिन्द कुमार आगामी सिजनको नेपाल प्रिमियर लिग (NPL) क्रिकेटका लागि काठमाडौँ गोर्खाजमा आवद्ध भएका छन्।

३४ वर्षीय मिलिन्दलाई काठमाडौँ गोर्खाजले तेस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो। काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रा. लि.को स्वामित्वमा रहेको गोर्खाजले यसअघि नै दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस र नामिबियाका कप्तान जेरहार्ड इरसमसलाई अनुबन्ध गरिसकेको छ।

मिलिन्द हाल उत्कृष्ट लयमा रहेका छन्। दुबईमा जारी आईसीसी विश्वकप लिग–२ मा उनले नेपालविरुद्ध ५० बलमा ७० रन र यूएईविरुद्ध ८१ बलमा ७१ रनको प्रभावशाली पारी खेलेका थिए।

दिल्लीमा जन्मिएका मिलिन्दले सन् २०११ मा रणजी ट्रफीमार्फत भारतको घरेलु क्रिकेटमा डेब्यु गरेका थिए। उनले त्यसपछि सिक्किम र त्रिपुराबाट रणजी खेल्दै अनुभव बटुलेका हुन्।

उनले दुई पटक इन्डियन प्रिमियर लिग (IPL) को टोलीमा स्थान पाएका थिए — सन् २०१४ मा दिल्ली डेयरडेभिल्स र सन् २०१९ मा रोयल च्यालेन्जर्स बेङ्गलोरले उनलाई अनुबन्ध गरेको थियो। तर उनले आईपीएलमा खेल्ने अवसर भने पाउन सकेनन्।

सन् २०२१ मा माइनर लिग क्रिकेटमार्फत अमेरिकी क्रिकेटमा प्रवेश गरेका मिलिन्द अहिले विश्वकप लिग–२ मा सर्वाधिक रन बनाउने खेलाडीमध्ये तेस्रो स्थानमा रहेका छन्।

मिलिन्दको आगमनसँगै काठमाडौँ गोर्खाजको ब्याटिङ लाइनअप थप बलियो बनेको छ। 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.