लेख विवरण

कुम्मायक गाउँपालिकालाई आठौँ तरुण गोल्डकपको उपाधि

कुम्मायक गाउँपालिकालाई आठौँ तरुण गोल्डकपको उपाधि

फिदिम, कात्तिक १४ – पाँचथरको फिदिममा सम्पन्न आठौँ तरुण गोल्डकप फुटबल प्रतियोगितामा कुम्मायक गाउँपालिकाले उपाधि हात पारेको छ। फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा कात्तिक १० गतेदेखि सुरु भएको प्रतियोगिताको बिहीबार साँझ सम्पन्न फाइनल खेलमा कुम्मायकले हिलिहाङ गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै विजेता बन्न सफल भएको हो।

बरसातका कारण मैदान चिप्लो रहे पनि दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। तर निर्णायक क्षणमा कुम्मायकका सुदीप लावतीले गरेको एक मात्र गोल टोलीको जितका लागि पर्याप्त बन्यो।

विजेता कुम्मायक गाउँपालिकाले नगद १ लाख १ सय ७३ रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हिलिहाङ गाउँपालिकाले नगद ५० हजार १ सय ७३ रुपैयाँ, पदक र प्रमाणपत्र पाएको आयोजकले जनाएको छ।

विजेता तथा उपविजेता टोलीलाई प्रमुख अतिथि नेपाली कांग्रेस पाँचथरका सभापति रुपनारायण जवेगूले पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरे।

नेपाल तरुण दलको ७३औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको यो प्रतियोगिता स्थानीय स्तरमा युवा र खेलकुदलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको आयोजक समितिले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.