एलभीडी प्रथम झापा महिला गोल्डकप २०८२ चक्रवात ‘मोन्था’का कारण दुई दिन पछाडि सर्यो
दमक, कात्तिक १४ – बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभावका कारण देशभर मौसम प्रभावित हुने पूर्वानुमानसहित शनिबारदेखि सुरु हुन लागेको एलभीडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता दुई दिनपछि सारिएको छ।
आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार अब प्रतियोगिता आगामी सोमबारदेखि सुरु हुनेछ। उद्घाटन खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने उनले जानकारी दिए।
झापा नगरपालिका–५ स्थित खेलमैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। प्रतियोगिताका लागि ३ हजार दर्शक अट्ने स्थायी प्यारापिटमा कुर्सी जडान गरिएको छ भने १० हजार दर्शक क्षमता भएको बाँसको अस्थायी प्यारापिट निर्माण कार्य सकिएको छ।
खरेलका अनुसार प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र उत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
यो प्रतियोगिता अहिले सम्मकै सबैभन्दा उच्च पुरस्कार राशिको महिला गोल्डकप भएको आयोजक समितिको दाबी छ।
प्रतियोगितामा त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, संकटा एफसी, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, आरएस पोखरा एफसी र भारतको सिंग्लिङ स्पोर्टिङ क्लब सहभागी हुने निश्चित भएको छ।

टिप्पणी लेख्नुहोस्