लेख विवरण

अमेरिकाको लगातार चौथो जित, युएई घरेलु मैदानमै धराशायी

अमेरिकाको लगातार चौथो जित, युएई घरेलु मैदानमै धराशायी

काठमाडौँ, कात्तिक १७ गते।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईमा जारी सिरिजमा अमेरिकाले पुनः बलियो प्रदर्शन गर्दै चौथो खेल पनि जित्दै शानदार समापन गरेको छ। सोमबार सम्पन्न अन्तिम खेलमा अमेरिकाले घरेलु टोली युएईलाई २ सय ४३ रनको ठूलो अन्तरले हराउँदै सिरिज सफा जितसँगै शीर्षस्थान मजबुत बनाएको हो।

पहिले ब्याटिङ गर्दै अमेरिकाले निर्धारित ५० ओभरमा मात्र तीन विकेट गुमाएर २ सय ९२ रनको विशाल योगफल तयार गरेको थियो। टोलीका लागि कप्तान मोनाङ्क पटेलले उत्कृष्ट ब्याटिङ गर्दै १३७ रन बनाउँदा मिलिन्ड कुमार १२३ रनमा अविजित रहे। दुबै खेलाडीले अमेरिकी जितको आधार तयार गरेका थिए।

जवाफी ब्याटिङमा युएईको अवस्था निराशाजनक रह्यो। लक्ष्य पछ्याउने क्रममा घरेलु टोली २२ ओभर नपुग्दै ४९ रनमा समेटियो। टिमका केवल जुनैद सिद्धिक्वी मात्र दोहोरो अंक (१० रन)मा पुग्न सफल भए।

अमेरिकी बलर रसिल उगरकरले ५ विकेट लिए भने सौरभ नेत्रभल्करले ३ विकेट हात पारे। बाँकी दुई विकेट अन्य बलरहरूले बाँडे।

यो जितसँगै अमेरिकाले २४ खेलबाट ३६ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा निरन्तरता दिएको छ। युएई भने १९ खेलमा ८ अंकमा सीमित रहँदै अन्तिम स्थानमा पुगेको छ। नेपाल १२ अंकसहित सातौँ स्थानमा रहेको छ र अब कात्तिक १९ गते हुने युएईविरुद्धको खेलमा उत्रिनेछ।

लिगमा स्कटल्यान्ड दोस्रो (३० अंक), नेदरल्यान्ड्स तेस्रो (२८ अंक), ओमान चौथो (२४ अंक), क्यानडा पाँचौँ (२१ अंक) र नामिबिया छैटौँ (१९ अंक) स्थानमा छन्।

लिग–२ को संरचनाअनुसार सहभागी आठ देशले कुल ३६ खेल खेल्नेछन्। शीर्ष चार टोलीले सन् २०२७ मा हुने एकदिवसीय विश्वकपका लागि प्रत्यक्ष प्रवेश पाउनेछ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.