अस्ट्रेलियामा चौथो एनएफसीटी इन्टरस्टेट फुटबल टुर्नामेन्ट हुने, १३ हजार डलरभन्दा बढी पुरस्कार राशी
अस्ट्रेलिया (तस्मानिया), कात्तिक १७ गते।
नेपाली फुटबल क्लब तस्मानिया (NFCT)ले अस्ट्रेलियामा आयोजना गर्ने चौथो एनएफसीटी इन्टरस्टेट फुटबल टुर्नामेन्टको तयारी पूरा गरेको छ। आगामी डिसेम्बर १३ मा होबार्टस्थित कर्नेलियन बे ओभल मैदान (Cornelian Bay Oval)**मा हुने यो प्रतियोगितालाई तस्मानियाको इतिहासमै सबैभन्दा ठूलो नेपाली खेलकुद आयोजनाको रूपमा हेरिएको छ।
क्लबका अनुसार यसपटकको प्रतियोगितामा १३ हजार २०० अस्ट्रेलियन डलरभन्दा बढी नगद पुरस्कार वितरण गरिनेछ। यो पुरस्कार राशी तस्मानियामा अहिलेसम्म आयोजित नेपाली खेलकुद कार्यक्रमहरू मध्ये सबैभन्दा उच्च हो।
एनएफसीटीका सचिव सुभास खतिवडाका अनुसार, “मुख्य प्रायोजकका रूपमा ‘VXL Education and Visa Services’ र सहप्रायोजकका रूपमा ‘Aussie Finance and Home Loans Tasmania’ले निरन्तर सहयोग गरेका छन्, जसले प्रतियोगिता यस स्तरमा ल्याउन सम्भव बनायो,” भन्दै दुवै संस्थाप्रति आभार व्यक्त गर्नुभयो।
सन् २०१९ मा औपचारिक रूपमा स्थापना भए पनि, क्लबले २०१४ देखि नै फुटबलका गतिविधि सञ्चालन गर्दै आएको छ। होबार्टको सबैभन्दा पुरानो नेपाली फुटबल क्लबका रूपमा परिचित एनएफसीटीमा हाल करिब १०० सक्रिय सदस्य छन्।
यसअघि तीन संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको क्लबले यस वर्षको चौथो संस्करणलाई राष्ट्रिय स्तरको प्रतिस्पर्धामा रूपान्तरण गर्ने तयारी गरेको छ। सचिव खतिवडाका अनुसार, “यो पटकको प्रतियोगिता केवल होबार्टमा सीमित नभई अस्ट्रेलियाभर रहेका नेपाली फुटबल क्लबबीच प्रतिस्पर्धा गराइनेछ।”
पुरस्कार विवरणअनुसार,
-
विजेता टोलीले ८,००० अस्ट्रेलियन डलर,
-
उपविजेताले ४,००० डलर,
-
प्लेयर अफ द टुर्नामेन्टलाई ३०० डलर,
-
र उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, मिडफिल्डर तथा डिफेन्डरलाई २००–२०० डलरसहित ट्रफी प्रदान गरिनेछ।
फाइनल खेलको म्यान अफ द म्याचले १०० अस्ट्रेलियन डलर प्राप्त गर्नेछन्।
यस स्तरको प्रतियोगिता सञ्चालनका लागि एनएफसीटीले तस्मानिया राज्य सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहकार्य गर्दै आएको छ। क्लबका अनुसार राज्य सरकारले आर्थिक सहयोगको प्रतिबद्धता जनाएपछि तयारी अझ सहज भएको छ। त्यस्तै, स्थानीय समुदाय, राजनीतिक व्यक्तित्व र विभिन्न संस्थाबाट पनि सहयोग र सद्भाव प्राप्त भइरहेको क्लबले जनाएको छ।

टिप्पणी लेख्नुहोस्