बार्सिलोनाको सहज जित, ला लिगामा रियल म्याड्रिडमाथि दबाब कायम
काठमाडौँ, कात्तिक १७ गते।
स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडमाथि दबाब कायम राख्दै लगातार जितको यात्रा अघि बढाएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले इल्चेलाई ३–१ गोलले पराजित गर्दै अंक तालिकामा दोस्रो स्थान सुदृढ बनाएको हो।
क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाका लागि लामिन यमालले खेलको नवौँ मिनेटमै अग्रता दिलाए। त्यसपछि फेरान टोरेसले ११औँ मिनेटमा गोल गर्दै अन्तर दोब्बर बनाए भने दोस्रो हाफमा मार्कस रासफोर्डले ६१औँ मिनेटमा गोल गर्दै जित पक्का गरे।
अर्कातर्फ, इल्चेका राफा मीरले ४२औँ मिनेटमा एक गोल फर्काएर अन्तर घटाए पनि टोलीलाई खेलमा फर्किन सकेन।
यो जितसँगै बार्सिलोनाले ११ खेलबाट २५ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा यथावत् छ। शीर्षमा रहेको रियल म्याड्रिडसँग समान खेलबाट ३० अंक छन्। पराजित इल्चे भने १४ अंकका साथ नवौँ स्थानमा छ।
बार्सिलोनाको हालको प्रदर्शनले रियल म्याड्रिड र बार्सिलोनाबीचको शीर्षस्थानको प्रतिस्पर्धा अझ रोचक बन्ने संकेत दिएको छ।

टिप्पणी लेख्नुहोस्