एन्फाको निर्णय : यो वर्ष ‘राष्ट्रिय लिग’, अर्को वर्ष ‘होम एन्ड अवे’ ए डिभिजन
काठमाडौँ, कात्तिक १७ गते।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी फुटबल गतिविधि सम्बन्धी नयाँ योजना सार्वजनिक गरेको छ। एन्फाले यस वर्ष राष्ट्रिय स्तरको ए डिभिजन लिग मात्र गर्ने निर्णय गरेको छ भने आगामी वर्षदेखि होम एन्ड अवे प्रणालीमा सहिद स्मारक ए डिभिजन लिग सञ्चालन गर्ने तयारी गरेको छ।
सोमबार एन्फा मुख्यालयमा आयोजित बैठकमा ए डिभिजन क्लबका प्रतिनिधिहरूसँग छलफल गरी यो सहमति गरिएको हो। एन्फाका अनुसार २०८३ सालको पुस महिनादेखि सहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे ढाँचामा सुरु गरिनेछ।
यस वर्ष भने राष्ट्रिय लिग आयोजना गरिनेछ, जसमा तीन वर्षअघि सम्पन्न ए डिभिजन लिगका शीर्ष ६ टोली र आगामी मङ्सिरमा हेटौँडामा हुने एन्फा प्रेसिडेन्ट लिगका शीर्ष ४ टोली सहभागी हुनेछन्। यसरी १० टोलीबीच प्रतिस्पर्धा हुनेछ।
एन्फाले लिग संरचना र प्रणालीलाई क्रमिक रूपमा परिमार्जन गर्दै नेपाली फुटबललाई दिगो र प्रतिस्पर्धात्मक बनाउन यो योजना अघि बढाएको बताएको छ।

टिप्पणी लेख्नुहोस्