लेख विवरण

एम्बापेको दोहोरो गोलमा रियल म्याड्रिडको शानदार जित, लिग शीर्षस्थानमा सात अङ्कको अग्रता

एम्बापेको दोहोरो गोलमा रियल म्याड्रिडको शानदार जित, लिग शीर्षस्थानमा सात अङ्कको अग्रता

म्याड्रिड, कात्तिक १७ गते।
किलियन एम्बापेले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि रियल म्याड्रिडले स्पेनी ला लिगामा भ्यालेन्सियामाथि ४–० को शानदार जित हात पारेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा म्याड्रिडले एकपक्षीय प्रदर्शन गर्दै शीर्षस्थानमा आफ्नो अग्रता सात अङ्कले फराकिलो बनाएको हो।

एम्बापेले खेलको १९औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गर्दै म्याड्रिडलाई सुरुवाती अग्रता दिलाए। उनले ३१औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई सशक्त स्थितिमा पुर्‍याए। अन्य दुई गोल युड बेलिङ्घम र अल्भारो कारेरासले गरे।

रियलले पहिलो हाफमै अर्को पेनाल्टी पाएको थियो, तर भिनिसियस जुनियरको प्रहार भ्यालेन्सियाका गोलरक्षक युलेन अगिरेजाबालाले रोक्न सफल भए।

यसै खेल अघि एम्बापेले गत वर्षको युरोपेली फुटबलमा सर्वाधिक गोलकर्ता बनेर ‘गोल्डेन बुट’ अवार्ड प्राप्त गरेका थिए। भ्यालेन्सियाविरुद्धको जितमा उनले सो अवार्डको खुसी मैदानमै मनाए। अहिले सम्मको सिजनमा एम्बापेले १७ खेलमा २१ गोल गर्दै जबरजस्त लय कायम राखेका छन्। फुटबल विश्लेषकहरूका अनुसार, उनले यही प्रदर्शन निरन्तरता दिएमा आगामी वर्ष ‘बालन डी’ओर’ जित्ने बलियो दावेदार बन्न सक्छन्।

भिलारियलले पनि सोही रात रायो भेलाकानोमाथि ४–० को जित हात पार्दै दोस्रो स्थानमा उक्लिएको छ। तर, बार्सिलोनाले इल्चेलाई हराउन सकेमा रियल म्याड्रिडको अग्रता पाँच अङ्कमा झर्ने सम्भावना छ।

ग्रिज्म्यानको ऐतिहासिक गोल, एट्लेटिकोको सहज जित

एट्लेटिको म्याड्रिडका एन्टोनियो ग्रिज्म्यानले ला लिगामा आफ्नो दुई सयौँ गोल पुरा गरेका छन्। सेभियाविरुद्धको खेलमा उनले गोल गर्दै एट्लेटिकोलाई ३–० को जित दिलाए।

प्रिमियर लिगमा लिभरपुलको पुनरागमन, आर्सनलको अग्रता कायमै

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले एस्टन भिल्लालाई २–० ले पराजित गर्दै चार खेलपछि जित हात पारेको छ। मोहम्मद सलाहले आफ्नो करिअरको २५०औँ गोल गर्दा रायन ग्राभेनबर्चले अर्को गोल थपे।

त्यस्तै, आर्सनलले बर्नलीलाई २–० ले हराउँदै शीर्ष स्थानमा सात अङ्कको अग्रता कायम राखेको छ। आर्सनलका लागि भिक्टर ग्योकेरेस र डेक्लान राइसले गोल गरे। यो जितसँगै आर्सनलले सिजनका १५ खेलमध्ये १३ खेल जितिसकेको छ।

अन्य खेलहरूमा —

  • चेल्सीले टोटेनहामलाई १–० ले हरायो,

  • फुल्हमले वोल्भरह्याम्पटनमाथि ३–० को जित हात पार्‍यो,

  • क्रिस्टल प्यालेसले ब्रेन्टफर्डलाई २–० ले पराजित गर्‍यो,

  • ब्राइटनले लिड्सलाई ३–० ले हरायो,

  • म्यानचेस्टर युनाइटेड र नटिङ्घम फरेस्ट बीचको खेल २–२ को बराबरीमा टुंगियो।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.