पाँचथर क्लब सेमिफाइनलमा, गत वर्षको उपविजेता सङ्कटा पहिलो खेलमै बाहिरियो
मोरङ।
पाँचथर क्लबले शानदार प्रदर्शन गर्दै ‘अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप २०८२’ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनलमा पाँचथरले सङ्कटा क्लब काठमाडौँलाई १–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।
खेलको सुरुवाती दुई मिनेटमै पाँचथरका विशाल घलानले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाए। यही गोल नै खेलको टर्निङ प्वाइन्ट बनेको थियो। गोलका लागि म्यान अफ द म्याच घोषित घलानले नगद रु पाँच हजारको पुरस्कार प्राप्त गरे।
गत वर्षको उपविजेता टोली सङ्कटा यसपटक सुरुवाती चरणमै बाहिरिएको छ। खेलभर बल पोजेसनमा अग्रता लिए पनि टोलीले गोलको अवसर उपयोग गर्न सकेन। खेल अत्यन्तै प्रतिस्पर्धात्मक रहँदा दुवै टोलीका खेलाडीबीच केहीबेर झगडा समेत हुँदा खेल केही समय रोकिएको थियो। रेफ्रीले दुवै टिमका चार–चार खेलाडीलाई पहेँलो कार्ड देखाएका थिए।
पाँचथरले जितसँगै सेमिफाइनलमा प्रवेश गर्दा अब भोलि हुने खेलमा न्युरोड टिम (एनआरटी) र झापा–११बीच भिडन्त हुनेछ।
प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार विजेता टोलीले रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

टिप्पणी लेख्नुहोस्