लेख विवरण

इङ्ल्यान्डका जोहन सिम्पसन काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका जोहन सिम्पसन काठमान्डु गोर्खाजमा

काठमाडौँ, मंसिर १८ – इङ्ल्यान्डका अनुभवी विकेटकिपर ब्याट्सम्यान जोहन सिम्पसन अब नेपाल प्रिमियर लिग (एनपिएल) मा देखिने भएका छन्। उनले आगामी सिजनमा काठमान्डु गोर्खाजको जर्सीमा खेल्ने पक्का भएको छ।

काठमान्डु स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको टोलीले एनपिएल–२ का लागि सिम्पसनलाई औपचारिक रूपमा अनुबन्ध गरेको जनाएको छ।

३७ वर्षका सिम्पसनले सन् २०२१ मा पाकिस्तानविरुद्धको श्रृंखलामा इङ्ल्यान्डबाट तीन एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) खेलेका थिए। लर्डसमा भएको दोस्रो खेलमा उनले १७ रन बनाउँदै ५ उत्कृष्ट क्याच समातेका थिए।

घरेलु क्रिकेटमा सिम्पसन अत्यन्त अनुभवी मानिन्छन् — उनले ५४२ खेलमा १६ हजार ५०० भन्दा बढी रन जोडिसकेका छन्। प्रथम श्रेणी क्रिकेटमा मात्र ११ हजार ३५१ रन र १९ शतक उनको नाममा छन्।

यसअघि नै काठमान्डु गोर्खाजले दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरास्मस, अमेरिकी ब्याटर मिलिन्द कुमार, र इङ्लिस काउन्टी खेलाडी बेन चाल्सवर्थलाई अनुबन्ध गरिसकेको छ।

सिम्पसनको आगमनसँगै काठमान्डु गोर्खाज आगामी सिजनको लागि अझ बलियो टिमको रूपमा प्रस्तुत हुने विश्वास लिइएको छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.