सङ्कटा महिला टोलीको जोरदार प्रदर्शन, झापालाई ६–० ले हराउँदै सेमिफाइनलमा
झापा। झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गतको तेस्रो क्वार्टरफाइनलमा सङ्कटा फुटबल क्लब काठमाडौँले घरेलु टोली झापा एफसी लाई एकतर्फी खेलमा ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
खेलको सुरुवातदेखि नै आक्रामक लयमा रहेको सङ्कटाले विपक्षीमाथि लगातार दबाब सिर्जना गर्यो। खेलको २३औँ मिनेटमा सेनु परियारले राष्ट्रिय खेलाडी पूर्णिमा राईको सटिक क्रसमा उत्कृष्ट फिनिसिङ गर्दै टिमका लागि पहिलो गोल गरिन्। पहिलो हाफको इन्ज्युरी समयमा सुनिता भुलानको असिस्टमा समीक्षा मगरले अर्को गोल थप्दै सङ्कटालाई २–० को अग्रता दिलाइन्।
दोस्रो हाफमा पनि सङ्कटाको आक्रमण जारी रह्यो। ५५औँ मिनेटमा छिरिङ वांग्देनले पूर्णिमा राईको ब्याक हिल पासमा गोल गर्दै स्कोरलाई ३–० बनाइन्। त्यसपछि ६१औँ मिनेटमा पूर्णिमा राईले सेनु परियारको पासमा गोल गर्दै अन्तर ४–० पुर्याइन्।
८३औँ मिनेटमा रेनिसा शर्माको लङ रन क्रसमा पुनः पूर्णिमा राईले अर्को गोल थपिन्। खेलको अन्तिम समयमा मैदान प्रवेश गरेकी अरुणा स्याङतेनले केही मिनेटमै गोल गर्दै सङ्कटाको शानदार ६–० को जित पक्का गरिन्।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी पूर्णिमा राई आजको खेलकी प्लेयर अफ द म्याच घोषित भइन्। उनले ट्रफीसहित नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
खेलपछि झापा एफसीका प्रशिक्षक सन्देश श्रेष्ठले तयारीको अभावका कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिए। सङ्कटा क्लबका प्रशिक्षक रविन्द्र शिलाकारले भने टोलीले निर्धारित रणनीतिअनुसार खेल्दै सहज जीत हात पारेको बताए।
प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ। विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ, र प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन्।

टिप्पणी लेख्नुहोस्