पथरीशनिश्चरे गोल्डकप : पाँचथरलाई ४–१ ले पराजित गर्दै सलहेश फुटबल क्लब फाइनलमा
उर्लाबारी, कात्तिक १९ गते। सिराहाको सलहेश फुटबल क्लबले प्रभावशाली प्रदर्शन गर्दै पाँचथर क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो। तर, दोस्रो हाफमा सलहेशले आक्रामक खेल प्रस्तुत गर्दै लगातार गोल गर्दै जित सुनिश्चित गर्यो।
६६औँ मिनेटमा रोहन कार्कीले टिमका लागि पहिलो गोल गर्दै खाता खोले। त्यसपछि ७०औँ मिनेटमा पाँचथरका अभिषेक लिम्बूले बराबरी गोल फर्काउँदै खेललाई १–१ मा ल्याए। तर, त्यसपछि खेलमा सलहेशले उत्कृष्ट पुनरागमन गर्यो।
७२औँ मिनेटमा रोमन भुजेलले गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए भने ७३औँ मिनेटमा पुनः रोहन कार्कीले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोरलाई ३–१ बनाए।
अतिरिक्त समयमा कोमल खवासले थप एक गोल गर्दै जितलाई अझ प्रबल बनाउँदै टिमलाई ४–१ को विजयी नतिजासम्म पुर्याए।
उत्कृष्ट प्रदर्शन गरेका रोहन कार्की आजको खेलका म्यान अफ द म्याच घोषित भए। उनलाई ट्रफीसहित रु. ५,००० पुरस्कार प्रदान गरिएको थियो।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल बिहीबार आयोजक पथरी–११ फुटबल क्लब र एनआरटी काठमाडौँबीच हुने भएको छ।

टिप्पणी लेख्नुहोस्