लेख विवरण

तीन वर्षदेखि लिग नगरेपछि फुटबल खेलाडीको एन्फा मुख्यालयमा धर्ना

तीन वर्षदेखि लिग नगरेपछि फुटबल खेलाडीको एन्फा मुख्यालयमा धर्ना

काठमाडौँ, कात्तिक २० गते ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तीन वर्षदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग नगरेपछि खेलबिहीन बनेका फुटबल खेलाडीहरूले बिहीबार एन्फा मुख्यालयमा धर्ना दिएका छन् ।

राष्ट्रिय टोलीका खेलाडीहरू सहितका दर्जनौँ फुटबलरहरू एन्फा मुख्यालय, सातदोबाटोमा भेला भएर शहीद स्मारक ‘ए’ डिभिजन लिग तत्काल सञ्चालन गर्न माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

खेलाडीहरूले एन्फाले यस वर्ष पनि लिग गर्ने आश्वासन दिएर फेरि छलछाम गरेको आरोप लगाएका छन् । विरोधस्वरूप उनीहरूले विगतमा जितेका पदकहरू एन्फा गेटमा झुन्ड्याउँदै असन्तुष्टि जनाए ।

एन्फाले हालै पुस महिनामा राष्ट्रिय लिग गर्ने र अर्को वर्षको पुसमा मात्र ‘ए’ डिभिजन लिग होम एन्ड अवे प्रणालीमा गर्ने निर्णय गरेको थियो । तर, खेलाडीहरूले पहिले ‘ए’ डिभिजन लिग सम्पन्न गरी त्यसपछि मात्र राष्ट्रिय लिग गर्नुपर्ने माग राखेका छन् ।

फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाले दुई वर्षदेखि पटक–पटक एन्फालाई आग्रह गरे पनि कुनै सुनुवाइ नभएको बताए । उनले लिग नहुँदा धेरै खेलाडी बेरोजगार बन्नुका साथै केही खेलाडी रोजगारीका लागि विदेश पलायन हुनुपरेको बताए ।

आन्दोलनका कारण एन्फा मुख्यालय वरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो । खेलाडीहरूले एन्फा पदाधिकारीलाई भेट्न खोज्दा प्रहरीले प्रवेश रोकिदिएको थियो ।

एन्फा प्रवक्ता सुरेश शाहले अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राई काठमाडौँ बाहिर रहेका कारण तत्काल छलफल सम्भव नभएको बताउँदै खेलाडीलाई शान्त पार्ने प्रयास गरेका थिए ।

खेलाडीहरूको आन्दोलनलाई पूर्व खेलाडी, प्रशिक्षक र फुटबल समुदायका युवाहरूले पनि साथ दिएका छन् ।

एन्फाले पछिल्लो पटक २०७९ सालमा शहीद स्मारक ‘ए’ डिभिजन लिग सम्पन्न गरेको थियो । त्यसयता एन्फाको आन्तरिक राजनीति र व्यवस्थापकीय कमजोरीका कारण ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग नियमित रूपमा हुन सकेका छैनन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.