क्यानभित्रको चुनावी खेलले क्रिकेटलाई कमजोर बनाउँदैछ : सञ्जम रेग्मी
काठमाडौँ, कात्तिक २० गते । पूर्व राष्ट्रिय खेलाडी सञ्जम रेग्मीले नेपाल क्रिकेट अहिले खतरनाक दिशातिर उन्मुख भइरहेको बताएका छन् छन् । आइसिसी विश्वकप लिग–२ अन्तर्गत लगातार चार खेलमा हार भोगेपछि उनले सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गर्दै भनेका छन् — “नेपाल क्रिकेट केन्याको बाटोमा हिँड्दै छ।”
उनका अनुसार भारतजस्तो देशमा क्रिकेट अगाडि बढ्नुको कारण निडर खेल पत्रकार र उत्तरदायी संस्थागत नेतृत्व हो, तर नेपालमा अहिले दुवै पक्ष कमजोर बन्दै गएका छन् ।
रेग्मीले भने, “पहिले पत्रकारहरूले क्यानको कमजोरी देखाउँथे, अहिले भने खेलाडी मात्र दोषी ठहरिन्छन्। दुई वर्षअघि सबैले घरेलु क्रिकेट कमजोर छ भन्थे, अहिले कसैले त्यो विषय उठाउँदैन।”
उनले आईसीसीबाट आउने कोष जिल्ला र प्रदेश तहमा पारदर्शी रूपमा प्रयोग भएको छ कि छैन भन्ने प्रश्न पनि उठाएका छन् । “के त्यो तथ्यांक पत्रकारहरूले खोज्छन्, कि हामीजस्ता पूर्व खेलाडीहरूले निकाल्नुपर्छ?” उनले प्रश्न गरे ।
रेग्मीले हालको टिम चयन प्रक्रियाप्रति पनि असन्तुष्टि जनाउँदै भने, “धेरै खेलाडीहरू राजनीतिक समीकरणका कारण चयन भएका छन्। बलरहरू ब्याटिङमा फ्लप हुन्छन्, ब्याट्सम्यानहरू बलिङमा, तर कोही जवाफदेही छैनन्। दुई खेलाडीले त यस टुरमा एउटा खेल खेल्ने अवसर समेत पाएनन् — कारण, उनीहरूसँग शक्ति थिएन।”
उनले आगामी क्यान निर्वाचनप्रति पनि शंका व्यक्त गर्दै भने, “दुई वर्षपछि निर्वाचन आउँदै छ, तर अहिले नै सबै क्यान सदस्यहरू चुनावी तयारीमा छन्। एनपिएलका अधिकांश कोच वा म्यानेजरहरू प्रदेश वा जिल्ला क्रिकेट संघसँग आबद्ध छन्, जुन आईसीसीको नियम विपरीत हो।”
रेग्मीका अनुसार अहिले क्यानभित्र सबैलाई खुशी पार्ने प्रवृत्ति बढेको छ, जसले नेपाल क्रिकेटको भविष्यलाई नै जोखिममा पारिरहेको छ ।
“क्रिकेटमा पारदर्शिता, निष्पक्षता र उत्तरदायित्व नभएसम्म विकास सम्भव छैन। यदि अहिलेको प्रवृत्ति रोकिन्न भने नेपाल क्रिकेट केन्याजस्तै पतनको दिशातिर जान्छ,” — पूर्व राष्ट्रिय खेलाडी सञ्जम रेग्मीको चेतावनी।

टिप्पणी लेख्नुहोस्