लेख विवरण

एलभिडी झापा महिला गोल्डकप : त्रिभुवन आर्मी एफसी सेमिफाइनलमा, आरएस पोखरामाथि ६–० को फराकिलो जित

एलभिडी झापा महिला गोल्डकप : त्रिभुवन आर्मी एफसी सेमिफाइनलमा, आरएस पोखरामाथि ६–० को फराकिलो जित

भद्रपुर (झापा)।

एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले प्रभावशाली प्रदर्शन गर्दै आरएस पोखरा एफसीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाको दुधे रंगशालामा आज सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा आर्मीले सुरुवातदेखि नै बल पोजेसनमा पूर्ण नियन्त्रण जमाउँदै लगातार आक्रमण गरिरह्यो । खेलको १६औँ मिनेटमा विमला विकको फ्रिकिकमा जेनिफर राना मगरले हेडिङ गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । त्यसपछि ३३औँ मिनेटमा विमला चौधरीले हेडरमार्फत अर्को गोल थपिन् ।

पहिलो हाफको इन्ज्युरी समयमा विमला विकले कर्नर किकबाट आएको बलमा उत्कृष्ट फिनिसिङ गर्दै आर्मीलाई ३–० को सहज अग्रता दिलाइन् ।

दोस्रो हाफमा पनि आर्मीले खेलमा पूर्ण दबदबा कायम राख्यो । ८५औँ मिनेटमा विमला चौधरीले सञ्जु कुमालको असिस्टमा व्यक्तिगत दोस्रो गोल गरिन् । त्यसपछि ९०औँ मिनेटमा शर्मिला थापाले विमला विकको क्रसमा गोल गर्दै स्कोरलाइन ५–० बनाइन् । इन्ज्युरी समयमा पुनः विमला चौधरीले अनिता लम्जेलको कर्नरमा हेडिङ गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरिन् र आर्मीलाई ६–० को सहज जित दिलाइन् ।

उत्कृष्ट प्रदर्शनका लागि विमला चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उनले १५ हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी प्राप्त गरिन् ।

यो जितसँगै एलभिडी झापा महिला गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र सङ्कटा फुटबल क्लब, र दोस्रो सेमिफाइनलमा एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुने आयोजक समितिले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.