काठमाडौँ, कात्तिक २० गते ।
एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ बुधबारदेखि मकवानपुरको हेटौंडामा सुरु भएको छ । उद्घाटन चरणमै रोमाञ्चक नतिजा निकाल्दै काँक्रेविहार युथ क्लब र टाइगर्स टिमले आफ्नो पहिलो जित हात पारेका छन् ।
बिहीबार सम्पन्न पहिलो खेलमा काँक्रेविहार युथ क्लबले हैरान्स युथ क्लबलाई ३–२ ले पराजित गर्यो । काँक्रेविहारका सुजन बालाम्पाकी मगर, आशिष चापागाँइ र अनीश घर्ती क्षेत्रीले गोल गर्दै टोलीलाई जित दिलाए । हैरान्सका तर्फबाट समराज थोकर र विश्व लामाले गोल गरे पनि टोली जित्न सकेन । उत्कृष्ट प्रदर्शनका लागि काँक्रेविहारका रोहन कार्की ‘म्यान अफ द म्याच’ घोषित भए ।
दोस्रो खेलमा टाइगर्स टिम टिकालाथालले गाईघाट फुटबल क्लबलाई २–१ गोल अन्तरले हरायो । टाइगर्सका सुजन लामा र आशिष श्रेष्ठले गोल गरे भने गाईघाटका युगन राईले सान्त्वना गोल फर्काए । टाइगर्सका सुसन लामा ‘प्लेयर अफ द म्याच’ बने ।
एन्फा प्रेसिडेन्ट लिग २ मङ्सिरसम्म चल्नेछ । प्रतियोगितामा १० टोली सहभागी छन् — गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब, काँक्रेविहार यूथ क्लब, विजय स्पोर्ट्स क्लब, हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब ।
लिग कम नकआउट प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ, जबकि उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ र दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
सेमिफाइनलमा प्रवेश गर्ने टोलीहरूले राष्ट्रिय लिगमा खेल्ने अधिकार पनि पाउनेछन्, जुन प्रतियोगिता आगामी पुस महिनामा आयोजना हुने एन्फाले जनाएको छ ।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्