लेख विवरण

आरसिबीको स्वामित्व बिक्रीबारे डियाजियोको विचार : दुई अर्ब डलरसम्म मूल्याङ्कन

आरसिबीको स्वामित्व बिक्रीबारे डियाजियोको विचार : दुई अर्ब डलरसम्म मूल्याङ्कन

नयाँदिल्ली, कात्तिक २० गते ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) का मालिकहरूले क्लबको स्वामित्व बिक्री गर्ने सम्भावनाबारे गम्भीर छलफल सुरु गरेका छन् ।

विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय शाखा युनाइटेड स्पिरिट्स लिमिटेड (यूएसएल) ले मुम्बई स्टक एक्सचेन्जमा दर्ता गराएको विवरणमा आरसिबीमा गरेको लगानीको रणनीतिक समीक्षा सुरु भएको औपचारिक रूपमा पुष्टि गरेको हो ।

यो प्रतिष्ठित फ्रेन्चाइजको मूल्याङ्कन करिब दुई अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । यूएसएलका प्रमुख कार्यकारी अधिकृत प्रवीण सोमेश्वरले बुधबार पठाएको पत्रमा आरसिबीलाई “एक मूल्यवान र रणनीतिक सम्पत्ति” भन्दै पनि यो क्लब “मुख्य अल्कोहल तथा पेय व्यवसायसँग प्रत्यक्ष सम्बन्धित नभएकाले” समीक्षा आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले भने, “यो निर्णयले यूएसएल र डियाजियो दुवैको भारतस्थित व्यवसायिक पोर्टफोलियो सुदृढीकरणप्रति प्रतिबद्धता झल्काउँछ। हामी आरसिबी र त्यससँग सम्बन्धित सम्पूर्ण हितलाई प्राथमिकतामा राख्नेछौँ।”

यो समीक्षा प्रक्रिया पुरुष र महिला दुवै टोलीको स्वामित्व सम्हाल्ने रोयल च्यालेन्जर्स स्पोर्ट्स प्राइभेट लिमिटेड सम्म फैलिने बताइएको छ, र यसको निष्कर्ष आगामी वर्ष मार्चसम्म आउने अपेक्षा गरिएको छ ।

सन् २००८ मा स्थापना भएको आरसिबीले यसै वर्ष पहिलो पटक आईपीएल उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेको थियो । तर विजयको उत्सवपश्चात् क्लबमाथि दुःखद घटना घट्यो — अहमदाबादमा अन्तिम जितपछि बेङ्गलोरमा आयोजित विजय परेडमा ठेलमठेल हुँदा ११ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनालाई “हृदयविदारक” भन्दै गहिरो दुःख प्रकट गरे भने कप्तान विराट कोहलीले सामाजिक सञ्जालमार्फत “शब्दविहीन र अत्यन्त पीडित” भएको प्रतिक्रिया दिएका थिए ।

अब आरसिबीको स्वामित्व बिक्रीसम्बन्धी यो समीक्षा भारतको खेल इतिहासकै सबैभन्दा ठूलो व्यावसायिक सम्झौता बन्न सक्ने अनुमान विश्लेषकहरूले गरेका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.