काठमाडौं, कात्तिक २० गते । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि लुम्बिनी लायन्सले भारतीय पूर्व क्रिकेटर तथा अनुभवी प्रशिक्षक रोबिन सिंहलाई टोलीको मेन्टर नियुक्त गरेको छ ।
आगामी मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने एनपीएलको तयारीका क्रममा लुम्बिनीले सिंहलाई टिमको रणनीतिक सल्लाहकार तथा प्रशिक्षण समन्वयकका रूपमा नियुक्त गरेको हो।
६२ वर्षीय सिंहसँग अन्तर्राष्ट्रिय स्तरको लामो प्रशिक्षण अनुभव छ । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुम्बई इन्डियन्स र क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत बारबाडोस ट्राइडेन्ट्सको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।
त्यसैगरी उनले संयुक्त अरब इमिरेट्स (यूएई) को राष्ट्रिय टोलीलाई समेत प्रशिक्षण दिँदै सन् २०२२ मा अष्ट्रेलियामा सम्पन्न आईसीसी टी–२० विश्वकपसम्म पुर्याएका थिए ।
खेल जीवनबाट संन्यास लिएपछि उनले भारतको यू–१९ टोलीको प्रशिक्षकका रूपमा आफ्नो कोचिङ् यात्रा सुरू गर्नुभएको थियो । सन् २००४ मा उनले हङकङको राष्ट्रिय टोलीको प्रशिक्षक बन्दै उक्त टोलीलाई एसिया कपमा छनोट गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
रोबिन सिंहले सन् २००७ र २००८ मा भारतीय राष्ट्रिय टोलीको फिल्डिङ प्रशिक्षकका रूपमा पनि काम गरेका थिए । त्यसपछि उनले आईपीएलको पहिलो सिजनमा डेक्कन चार्जर्स, र सन् २०१० मा मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षकका रूपमा तीन सिजन काम गरेका थिए ।
लुम्बिनी लायन्सका मार्की खेलाडी नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल रहेका छन् । टिमले यसअघि नै अस्ट्रेलियन अलराउन्डर डार्सी सर्ट र इटालीका बलर थोमस ड्राकालाई अनुबन्ध गरिसकेको छ ।
फ्रान्चाइजले थप विदेशी खेलाडी चाँडै सार्वजनिक गर्ने जनाएको छ ।
रोबिन सिंहको आगमनले लुम्बिनी लायन्सको टोलीलाई अनुभव, रणनीति र अन्तर्राष्ट्रिय स्तरको खेलदृष्टिकोण प्रदान गर्ने विश्वास गरिएको छ ।
हाम्रो न्यूजलेटरको सदस्यता लिनुहोस्।
Don’t have an account? Register Now and enjoy all our benefits!
टिप्पणी लेख्नुहोस्