लेख विवरण

बैतडीमा प्रधानमन्त्री कप छनोटसहित २२औँ बिडिसिए कप क्रिकेट प्रतियोगिता सुरु

बैतडीमा प्रधानमन्त्री कप छनोटसहित २२औँ बिडिसिए कप क्रिकेट प्रतियोगिता सुरु

बैतडी, कात्तिक २१ गते । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा बिडिसिए कपको २२औँ संस्करण आजदेखि औपचारिक रूपमा सुरु भएको छ । दशरथचन्द नगरपालिका–सुन्दरखालीस्थित दशरथचन्द क्रिकेट मैदानमा आयोजित एक विशेष समारोहका बीच प्रतियोगिताको उद्घाटन नगरप्रमुख पुस्करराज जोशीले गर्नुभयो ।

उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, विभिन्न सुरक्षा निकायका प्रमुख, दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदी, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेश बोहरा लगायतको उपस्थिति रहेको जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष लोकराज जोशीले जानकारी दिनुभयो ।

उद्घाटनपछि सुरु भएको पहिलो खेलमा एनआरवासी क्रिकेट क्लब र त्रिपुरा क्रिकेट क्लब आमनेसामने भएका छन् । प्रतियोगितामा १२ टोली सहभागी छन् भने फाइनल खेल मङ्सिर ५ गतेका लागि तय गरिएको सचिव सिद्धराज कोकटीले बताउनुभयो ।

विजेता टोलीले रु. एक लाख, उपविजेताले रु. ५० हजार, म्यान अफ द सिरिजले रु. १० हजार, र उत्कृष्ट बलर तथा ब्याटरले जनही रु. ५ हजार पाउनेछन् । त्यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु. एक हजार पुरस्कार दिइने व्यवस्था गरिएको छ ।

जिल्लास्तरीय प्रतिभा पहिचान र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिताको गत संस्करणमा नागार्जुन रणसैनी युवा क्लब (एनआरवाइसी) विजेता बनेको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.